तीन वर्ष अगाडि तस्वीरमा देखिएकी सबाना खातुन ११५ केजी वजनकी थिइन् । मात्र २० बर्षमा उनको यो तौलले उनलाई मात्र हैन देख्ने अरुलाई समेत अप्ठ्यारो लाग्थ्यो । यो देख्नेहरु शारीरिक केही समस्याले पो हो की भन्ने आँकलन गर्न समेत भ्याउँथे ।
तर उनले मात्र ३ बर्षको अवधिमा आफ्नो तौल ११५ केजीबाट ६५ केजीमा झारेर सबैलाई चकित बनाएकी छिन् । २० वर्षकै उमेरमा उनको तौल ११५ केजी पुगेको थियो। उनी १२ कक्षाको परीक्षा दिएर फुर्सदमा थिइन्, खानपानमा पटक्कै ध्यान नदिने। गुलियो, पिरो, अमिलो मजाले खाइदिने। खाना खानेवित्तिकै सुत्ने र शारीरिक व्यायाम पनि नगर्ने। तौल बढ्नुको कारण यही थियो।
सुरुमा सबानालाई तौल बढ्न थालेको ख्यालै भएन। साथीभाइ र इष्टमित्रले हालखबर सोध्नुको सट्टा किन यसरी हात्तीझैं मोटाएको ? भनेर प्रश्न सोध्दा पनि सुरुमा वास्ता गरिनन्। आफन्तले नै बारम्बार हात्ति, गैंडा, फर्सी जस्ता उपनाम दिएर जिस्क्याउन थालेपछि भने उनलाई रिस उठ्न थाल्यो। भन्छिन्, ‘जोसँग भेट्दा पनि मोटी भन्न थालेपछि दिक्क लाग्न थाल्यो। मोटाएकोमा आफैंलाई कुनै टेन्सन थिएन, तर अरुले धेरै चासो दिँदा खुब रिस उठ्थ्यो।’
अरु मानिसले ‘छोरी कति मोटाएकी’ भनेको सुनिरहनुपर्दा उनका आमा–बुबा पनि चिन्तित भएका थिए। आफ्नो कारणले आमा–बुबा चिन्तित देखेर उनलाई दुःख लाग्थ्यो। सपिङ जाँदा पनि आफूलाई मन परेको लुगा पाइँदैनथ्यो। बढी तौल भएकै कारण दाजु, दिदीभन्दा ठूलो देखिन थालेकी थिइन्।
बाटाघाटामा सबैले मोटी भनेर जिस्क्याउन थालेपछि घरबाहिर हिँड्न पनि मन लाग्न छाड्यो। उनी भन्छिन्, ‘मोटाएकै कारण मैले शारीरिक र मानसिक समस्या भोग्नुपरेको थियो। बेलाबेलामा हातखुट्टा र शरीरका अन्य अंगमा पीडा हुन्थ्यो।’ स्वास्थ्य जाँँच गर्दा उनलाई युरिक एसिड देखियो। रिपोर्ट हेरेर चिकित्सकले भनिदिए, ‘खेल्ने, घुम्ने, रमाइलो गर्ने उमेरमा रोग नित्याइछौ। तौल नियन्त्रण गरिनौ भने जीवनभरि औषधि खाएर बस्नुपर्छ।’ त्यसपछि भने उनी झस्किइन्।
डाक्टरको कुरा सुनेपछि रातभरि निदाउन सकिनन्। परिवारका सदस्य पनि छोरी सानै उमेरमा रोगी भएकोमा धेरै चिन्तित भए। ‘अब तौल घटाउनै पर्छ,’ उनको मनमा लाग्यो। सबानाले तौल घटाउन जिम जाने निर्णय गरिन्। परिवारले जिम जाने निर्णयमा रोकतोक गरेन। जिम गएर तौल नाप्दा ११५ केजी पुगेकी रहेछन्। आफ्नो तौल यति धेरै पुगिसकेको उनलाई अन्दाज पनि थिएन।
जिम गर्न थालेको सुरुवाती दिनमा शरीर बेस्सरी दुख्थ्यो। तर पनि उनले जिमलाई निरन्तरता दिइन्। तौल घटाउने अठोट जो लिएकी थिइन्। जिम थालेपछि उनले जीवनशैलीनै परिवर्तन गरिन्। चिल्लो, पिरो मसलायुक्त खानेकुरा खान छोडिदिइन्। उसिनेको खानेकुरा, अन्डा, चना जस्ता पौष्टिक आहार खान थालिन्।
जिमका बारेमा घरमा नै अध्ययन गर्थिन्। उनले इन्टरनेटबाट र साथीहरुसँग किताब मगाएर शारीरिक कसरतको बारेमा धेरै अध्ययन गरिन्। त्यही कारणले सबानालाई जिम सिक्न र लागू गर्न सहज भयो। ६–७ महिनामा उनको तौल यसरी घट्यो कि साथीहरु नै छक्क परे। पहिले मोटी भन्नेहरु पनि पत्लु भन्दै ठट्टा गर्न थाले।
निरन्तर २ वर्ष जिम गगरेपछि उनी एक वर्षदेखि उनी फिटनेस पार्कमा फिटनेस प्रशिक्षकको रुपमा कार्यरत छन्। प्रशिक्षक भए पनि उनी बिहान ५ बजे उठेर दुई घन्टा जिम गरेर मात्र फिटनेस सिकाउने गर्छिन्। आज जिमले उनलाई चमत्कारीक परिणाम दिएको छ ।