दशैंको आज तेस्रो दिन, माता चन्द्रघण्टाको पूजाअर्चना गरिंदै

नेपालीहरुको महान् पर्व बडा दशैंको आज तेस्रो दिन देवी दुर्गा भवानीको तेस्रो रुप माता चन्द्रघण्टाको पूजाआजा गरिंदै छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ। चन्द्रमा कलाको प्रतीक हो । चन्द्रकलाका साथै प्रकृतिको सिर्जना शक्तिले जगतलाई सुन्दर, समृद्ध र ऐश्वर्यशाली बनाउन देवीको योगदान रहेको शास्त्रहरुमा उल्लेख छ ।

चन्द्रघण्टा देवीको कलाप्रभावले गर्दा जगत् सुन्दर सुरम्य र शान्त बन्ने हुँदा मत्र्यलोक लोभलाग्दो र सम्पूर्ण प्राणीका लागि जीवनयापन गर्न स्रोतसाधन सम्पन्न भएको छ । बालीनाली तथा फलफूलले संसार शष्यशाली र रसपूर्ण भइरहेको छ । चन्द्रघण्टादेवीको शीरमा अर्धचन्द्रको आभूषण हुने र यो मुकुट घण्ट जस्तो देखिने हुँदा यी देवीलाई माता चन्द्रघण्टा भनिएको हो ।



चन्द्रघण्टादेवीको वदन वर्ण गुलाबी रङको रहेको शास्त्रहरुमा उल्लेख छ । उनी बाघमाथि चढेकी छन् । उनी क्रोध तथा हिंसा जस्ता अमानवीय तथा आसुरी वृति नास गर्न र सज्जनको रक्षा गर्न यस लोकमा अवतरण गरेको श्रीमद्देवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ ।

माता चन्द्रघण्टा भवानीको पूजा आराधनाका लागि भक्तजन आज देवीमन्दिर चण्डीथान देउराली तथा घरघरमा देवीको आराधना गरी भक्तहरुले पूजन गरिरहेका छन् ।

सम्बन्धित समाचार