बजारशास्त्रीहरूको शुभकामना आदान प्रदान कार्यक्रम

बडादशैंको उपलक्ष्यमा बजारशास्त्रका विज्ञहरूले पनि काठमाडौंको बानेश्वरमा एक चियापानको कार्यक्रमको आयोजना गरी शुभकामना आदान–प्रदान गरेका छन् ।

कार्यक्रममा प्राडा श्यामकृष्ण श्रेष्ठ (त्रिवि, बजारशास्त्र विषय समितिका पूर्व अध्यक्ष), प्राडा बगला बस्नेत (त्रिवि, बजारशास्त्र विषय केन्द्रीय समितिका अध्यक्ष), प्राडा भोजराज अर्याल ( त्रिवि, व्यवस्थापन केन्द्रीय विभागका निवर्तमान प्रमुख), उप प्रा. सन्तोष घिमिरे ( त्रिवि, व्यवस्थापन विभाग, बजारशास्त्र समितिका अध्यक्ष), नीरा श्रेष्ठ (सह प्रा. पद्मकन्या कलेज), मीखा श्रेष्ठ (उप प्रा., शंकरदेव कलेज), भरत राई (उप प्रा., नेपाल कमर्श क्याम्पस) तथा डा. गोपाल थापा (सह प्रा., त्रिवि) आदिको उपस्थिति रहेको थियो ।



बडादशैंको अवसर पारेर शुभकामना आदान–प्रदान गर्ने भनेर कार्यक्रमको आयोजना गरिएको भए पनि कार्यक्रममा बजारशास्त्रीहरूले आ–आफ्ना अनुभवहरू प्रस्तुत गर्दै बजारशास्त्र विषयको उन्नयनका लागि जोड दिनु पर्ने कुराहरू गरेका थिए । प्राडा श्यामकृष्ण श्रेष्ठले आफू विषय समितिको अध्यक्ष हुँदाको समयका तीता–मिठा अनुभवहरू सुनाउदै छिमेकी मुलुक चीनले बजारशास्त्रकै माध्यमबाट प्रगति गरेकोले नेपालले पनि त्यसबाट प्रेरणा लिनु पर्ने कुरा बताए । प्राडा वगला बस्नेतले त्रिभुवन विश्वविद्यालयमा बजारशास्त्र विषयको स्थितिको विश्लेषण गर्दै यसको थप उन्नयनका लागि भविष्यमा चाल्नुपर्ने कदमका बारेमा आफ्नो धारणा राखिन् ।

यसैगरी प्राडा भोजराज अर्यालले एक्काइसौं शताब्दीको परिवर्तनको सन्दर्भमा बजारशास्त्र विषयलाई कसरी समयसापेक्ष बनाउन सकिएला भनेर आफ्ना तर्कहरू प्रस्तुत गरेका थिए भने उप प्रा. सन्तोष घिमिरेले बजारशास्त्र अध्ययनका कठिनाइहरूका बारेमा प्रकाश पारेका थिए । उप प्रा. मीरा श्रेष्ठले वर्तमान समय र सन्दर्भमा बजारशास्त्रको महत्वका बारेमा आफ्नो धारणा राखेकी थिइन् भने उप प्रा. भरत राईले बजारशास्त्र विषयको उन्नयनका लागि पाठ्यक्रम र अनुसन्धानलाई समसामयिक परिमार्जन गर्नुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रमको संयोजन गरेका डा. गोपाल थापाले बजारशास्त्र विषयको दिगो विकासको लागि एउटा छुट्टै मञ्चको आवश्यकता रहेको विषयमा जोड दिंदै यस्ता कार्यक्रममा हुने विचारको आदान प्रदानले बजारशास्त्रको प्रवद्र्धनमा बल पुग्ने बताए ।

सम्बन्धित समाचार