देश विकासमा फड्को मार्न सबै दलबीच सहकार्य आवश्यक छ : प्रवक्ता श्रेष्ठ

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले व्यवस्था परिवर्तनमा जस्तै वर्तमान व्यवस्थालाई स्थापित गर्न र देश विकास गर्न सबै दलबीच एकता आवश्यक रहेको बताएका छन् । रेडियो सन्देशको आयोजनामा आज भएको प्रदेश नं ३ का पत्रकारको भेलामा उनले मुलुकको परराष्ट्र नीति, शिक्षा नीति तथा विकासको ठोस योजनामा आम सहमति हुनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । “राष्ट्रले विकासमा फड्को मार्न सबै दल तथा नागरिक समुदायबीच आम एकता आवश्यक छ”, उनले भने ।

उनले लोकतन्त्र विरोधी शक्तिले सत्ता हत्याउन खोज्यो भन्ने गरिए पनि प्रतिगमनकारी शक्तिले पुनःराज्य कब्जा गर्ने भन्ने कुरा कल्पना गर्नै नसकिने बताउनुभयो । विस्थापित शक्ति जहिले पनि चलमलाउन खोज्नु सामान्य भएको बताउँदै नेता श्रेष्ठले लोकतान्त्रिक शक्तिले राम्रो काम नगर्ने हो भने मात्र त्यस्ता शक्तिले अवसर पाउने धारणा राखे ।



प्रवक्ता श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहितको सुशासनबिना देशको अर्थतन्त्रको विकास नहुने धारणा राखे । देश विकासको बाधकका रूपमा रहेको असारे विकासको अवधारणा परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो । नेता श्रेष्ठले बजेट छुट्याउने तर सम्पूर्ण बजेट खर्च गर्न नसक्ने परिपाटीको अन्त्य गर्नुपर्ने आवश्यकता रहेको बताए ।

अब कसैलाई दोष दिएर वा कसैलाई देखाएर पन्छिने अवस्था नरहेकाले काम गरेर देखाउनु एकमात्र विकल्प रहेको उनको भनाइ थियो । विश्वकै सुन्दर र अत्यन्त सम्भावना भएको राष्ट्र पाएर पनि यहाँका साधन स्रोतको उचित प्रयोग गर्न नसकिरहेको अवस्थामा सबै दल, वर्ग र क्षत्रेका नागरिक एक भएर लाग्नुपर्ने उनले बताए । समृद्ध नेपाल निर्माण गर्न ठूलो दल भएकाले नेकपाले नेतृत्व गरे पनि प्रतिपक्षी दल पनि उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने उनको धारणा थियो । उनले समाजवादोन्मुख समावेशी लोकतन्त्रलाई सफल बनाउन हिजोसँगै लडेका शक्तिबीच सहकार्य आवश्यक रहेको बताए ।

सम्बन्धित समाचार