बडादशैंको शुभकामना !

हामी दशैं मनाइरहेका छौं । दशैंको शुभ अवसरमा नाता सम्बन्धमा ठूला वा पदमा ठूला व्यक्तिहरूबाट टीका जमराका रूपमा आशीर्वाद ग्रहण गर्ने प्रचलन निक्कै पुरानो मानिन्छ । हिन्दू धर्ममा आस्था राख्नेहरू यस पर्वलाई आदर्श परम्पराका रूपमा धेरै पहिलेदेखि नै मान्दै मनाउँदै आएका छन् । बहुल साँस्कृतिक समाजमा अब कुनै पर्व एउटा वर्ग वा सम्प्रदायको मात्र सीमित हुन छोड्यो । अहिले सबै सम्प्रदायहरूमा एक–अर्को सम्प्रदाय वा वर्गको प्रभाव पर्ने भएकोले दशैं पनि थप व्यापक बन्दै छ । यो एउटा सुखद् पक्ष पनि हो ।

वरिष्ठ व्यक्तिहरूलाई कनिष्ठहरूले आदर्शका रूपमा हेर्ने, उनीहरूको आचरण र व्यवहारलाई आत्मसात् गर्ने र उनीहरूले देखाएको मार्गचित्रमा हिंड्दा सबैको कल्याण हुन्छ भन्ने कुरामा विश्वास गर्दै दशैंको विशेष अवसरमा त्यस्ता अग्रज वा समाजका अगुवाहरूबाट टीका जमरा ग्रहण गरी आशीर्वाद लिने प्रचलन धेरै पहिलेदेखि रहँदै आएको छ । तर पछिल्लो अवस्थामा त्यो आदर्श खण्डित हुन पुग्यो ।
शीर्ष तहका नेता, जिम्मेवार पदका व्यक्तिहरू तथा परिवारभित्रकै अग्रजहरू नै गलत र अमर्यादित कार्यमा संलग्न हुन थालेपछि त्यो आदर्श चिन्तन खण्डित हुन पुगेको हो । अझ गलत नियत भएकाहरू र ठगी धन्धामा संलग्न व्यक्तिहरूले नै राजनीतिक संरक्षण पाउन थालेपछि समाजबाट आदर्श स्खलित हुन थालेको आभास हुन थाल्यो । अहिले न ठूला पदका व्यक्तिहरू आदर्शका उदारहरणीय पात्र बन्न पुगे न सम्बन्धका नै । समाजमा सभ्य, शालीन र इमान्दार अग्रजहरूको खाँचो महसुस भइरह्यो । यस अवस्थामा दशैं पनि नितान्त औपचारिक मेला वा भेलाजस्तो मात्र बन्न पुग्दैछ ।



दशैंको दशौं दिन मनाइने विजयादशमीलाई असत्यमाथि सत्यको विजयका रूपमा लिइन्छ । त्यसको साङ्केतिक आशय हो– मानिसहरू असत्यको मार्गलाई परित्याग गरी सत्मार्गमा हिड्न सकून् वा उनीहरूलाई सत्मार्गमा हिँड्ने प्रेरणा मिलोस् । विजयादशमीका दिन लगाइने रातो टीकाले दिने दीव्यसन्देश पनि यही हो । तर यस्तो आदर्शमूलक आशीर्वचन दिने व्यक्ति नै ठग, बलात्कारी, भ्रष्टाचारी, दुराचारी वा बेइमान छ भने उसले कनिष्ठहरूलाई कस्तो आशीर्वाद दिने ? लिनेले पनि के लिने ? त्यस्ता कथित् ठूलाहरूलाई आदर्शका प्रतीक मान्ने कि नमान्ने ? आज मुलुक यस्तै अन्यौलग्रस्त अवस्थाबाट गुज्रँदै छ ।

ठूलाहरू ठूला हुन सकेनन् । ठूलाका आसेपासे झुण्डहरू विवेकशील बन्न सकेनन् । व्यवहारमा सिन्को नभाँच्नेहरू अझै पनि आदर्शका कुरा गरेर थाकेनन् । बाबुले हजुरबालाई बोकेर जङ्गल लगेको डोको नातिले बोकेर घर ल्याएको देखेर पनि चेत नखुलेका ठूलाहरूलाई नै आदर्शका प्रतीक मान्नुपर्ने बिडम्बनापूर्ण युगमा बाँचिरहेका छौं हामी । त्यसैले दशैंको बाहिरी आकार बड्दै गए पनि यसले दिने सन्देशचाहिँ निश्चित रूपमा सङ्कुचित बन्दै गएको छ ।

तैपनि बडादशैंको शुभ–कामना !
ठूलाहरू ठूला बनिरहन सकून् । कनिष्ठहरूले बरिष्ठहरूलाई आदर्श मान्ने अवस्था बनिरहोस् । व्यक्ति कुराले होइन, व्यवहारले आदर्श बन्छ भन्ने सोचको संस्थागत विकास होस् । न्यायका घाम सबैतिर बराबरी लागून् । रक्षकहरू नै भक्षक नबनून् । पत्रकारको कलम नभाँचियोस् । मान्छेलाई रङ्ग, वर्ण, जात, लिङ्ग, सम्प्रदाय वा भूगोलका आधारमा विभेद गर्ने मानसिकताको जरैदेखि अन्त्य होस् । सबैको पद, प्रतिष्ठा र गरिमाको रक्षा होस् । यसपालिको दशैंमा दुर्गा भवानीको अलौकिक शक्तिले सबैमा सद्बुद्धि प्राप्त होस् ।
बडादशैंको उपलक्ष्यमा हाम्रो पनि शुभकामना !

सम्बन्धित समाचार