निवर्तमान सभामुख कृष्णबहादुर महराबाट यौन दुर्व्यवहार भएको भन्दै संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले प्रहरीमा उजुरी दिएसँगै महरा पक्राउ पर्ने विषयमा चर्चा परिचर्चा सुरु भएको छ ।
नेपालको राजनीतिक इतिहासकै हाइप्रोफाइलको यो स्क्यान्डलका कारण महराले सभामुख पदनै गुमाइसकेका छन् । अब उनी पक्राउ समेत पर्ने सम्भावना बढेर गएको छ । संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी आफ्ना श्रीमानसहित किटानी जाहेरी दर्ता गर्न प्रहरीकहाँ पुगेको बताइएको छ ।
रोशनीले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पुगेर जबरजस्ती करणी उद्योगमा महराविरुद्ध किटानी जाहेरी दिएकी हुन् । बलात्कार प्रयासको अभियोगमा प्रहरीमा किटानी जाहेरी परेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले पीडित रोशनीले महराविरुद्ध किटानी जाहेरी दिएको पुष्टि गरे । महराविरुद्ध उजुरी परेसँगै उनी पक्राउ पर्ने सम्भावना बलियो बनेको छ ।
यो प्रकरणलाई अन्यत्र मोड्ने गरी रोशनीले आफ्नै सुरुको बोली फेर्दै आफूमाथि कुनै यौन दुर्व्यवहार नभएको दाबीसहित बयान दिएपनि उपलब्ध तथ्यहरुको विश्लेषणबाट महरा रोशनीको निवास पुगेको पुष्टि भएपछि महरालाई कारबाहीको दायरामा ल्याउन चौतर्फी दवाव परेको थियो ।
यो विषयमा शुक्रबार गृहमन्त्री रामबहादुर थापाले आईजीपी सर्वेन्द्र खनालसहितको बैठक बोलाएका थिए । सोही बैठकमा गृहमन्त्री थापाले अनुसन्धान प्रक्रियामा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए ।