यौन दूराचारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई आइतबार साँझ प्रहरीले सभामुख निवासबाटै पक्राउ गरेको छ । उनलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएपछि प्रहरीले महरालाई नियन्त्रणमा लिएको हो । राजीनामा दिए पनि महराले सरकारी निवास छाडेका थिएनन् ।
महरााविरुद्ध पीडित पक्षबाट शुक्रबार जबरजस्ती करणी उद्योगको उजुरी दर्ता भएको थियो । पीडित भनिएकी महिला रोशनी शाहीले महराविरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा जबरजस्ती करणी उद्योगमा उजुरी दिएकी थिइन् ।
गत आइतबार राति महराले आफूलाई बलात्कार गरेको भन्दै मिडियामा आएकी शाहीले भोलिपल्ट भने त्यसको विपरीत केही नभएको बताएकी थिइन् । उनले महरा आफ्नो कोठामै नआएको र उनी आफ्नो बाबु समान रहेको दाबी गरेकी थिइन् । प्रहरीले गरेको प्राविधिक अनुसन्धानमा महरा आइतबार रोशनीको कोठामा देखिएको पुष्टि भएको छ ।
महरालाई पक्राउ गर्न अघि प्रहरीले आजै सरकारी वकिलसँग राय लिएको थियो। सरकारी वकिलले महरालाई नियन्त्रणमा लिएर बयान सुरू गर्न सुझाव दिएका थिए । महरालाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गर्न प्रहरीले अदालतमा अनुमति मागेको थियो। पक्राउ गरिएका महरालाई अब प्रहरीले आफ्नो हिरासतमा राखेर लागेका आरोपका सम्बन्धमा थप अनुसन्धान गर्नेछ।
आफूमाथि बलात्कार आरोप लागेपछि महराले सोमबार संघीय संसदको सभामुख पदबाट राजीनामा दिएका थिए ।