चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत गरौं

असोज २५ र २६ गते चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपालको दुई दिने राजकीय भ्रमण हुँदैछ । यो भ्रमण आफैंमा महत्वपूर्ण र ऐतिहासिक हो । नेपाली भूमिमा राष्ट्रपति सीको स्वागत गर्न पाउनु नेपालीहरूका लागि पनि अत्यन्तै खुसी र गौरवको कुरा हो ।

औद्योगिक विकासका हिसाबले, विज्ञान तथा प्रविधिका क्षेत्रमा गरेको प्रगतिका हिसाबले तथा समग्र भौतिक विकासका हिसाबले चीन संसारकै शक्तिशाली मुलुकमा गनिन्छ । आफ्नो मुलुकको उत्पादनलाई बजारीकरणका हिसाबले हेर्दा पनि चीन अग्रणी स्थानमा छ । अमेरिका, बेलायत, जापानजस्ता मुलुकहरूमा पनि चिनियाँ उत्पादनहरूको पहुँच छ । विकासका हरेक सूचकहरूले अग्रणी स्थानमा रहेको मुलुक चीन नेपालको छिमेकी देश भएर पनि हामीले त्यहाँको विकासबाट केही सिक्न सकिरहेका छैनौं । मुलुकको विकास कसरी गर्न सकिन्छ र मुलुकलाई कसरी समृद्धिको मार्गमा गतिशील गर्न सकिन्छ भनेर जान्नका लागि पनि चिनियाँ मोडेल र अनुभव नेपालका लागि उपयोगी बन्न सक्छ । राष्ट्रपति सीको भ्रमणबाट नेपालले त्यो लाभ लिन सक्नुपर्छ ।



संयोगबस् चीन र नेपाल दुबै देशका सत्तारुढ दल कम्युनिष्ट पाटी रहेका छन् । नेपालमा दुई तिहाइको स्थिर सरकार छ । विकास र निर्माणका सवालमा नेपाली जनताको साथ र समर्थन छ । यस्तो सरल भूराजनीतिक अवस्था रहेको बेलामा नेपालले सीको भ्रमणबाट बढीभन्दा बढी लाभ लिन सक्नुपर्छ ।

नेपाल चीनका लागि धार्मिक गन्तव्य पनि बन्न सक्छ । चीनमा बुद्ध धर्म र दर्शनको निक्कै ठूलो प्रभाव रहेको छ । बुद्धको जन्मस्थल नेपाल (लुम्बिनी) भएकोले धेरै चिनियाँ धार्मिक पर्यटकहरू लुम्बिनीलाई लक्ष्य बनाएर नेपालको भ्रमणमा आउन सक्ने सम्भावना प्रबल छ । अझ नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष धोषणा गरेको परिपे्रक्षमा सीको नेपाल भ्रमणले चिनियाँहरूको मात्र होइन, संसारको ध्यान खिच्न सक्छ । यसलाई पनि सरकारले बजारीकरण गर्न सक्नुपर्छ ।

आधुनिक चीनसँग नेपाललाई दिनसक्ने धेरै कुराहरू छन् । ती कुराहरूलाई लिन सक्ने र लिइएका कुरा लाई कार्यमा उतार्न सक्ने क्षमताको प्रदर्शनचाहिँ नेपालले नै गर्ने हो । नेपाली नेतृत्वमा समयानुकूल कार्य गर्ने इच्छाशक्ति रहेन भने चीन वा भारतले औपचारिक रूमा दिइएका २-४ कुराले मात्र आजको नेपालका समस्याहरूको सम्बोधन हुन सक्तैन । त्यसैले राष्ट्रपति सीको यस भ्रमणबाट नेपालले केके लिन सक्ला भनेर गृहकार्य गर्नुभन्दा पनि केके सिक्न सकिएला भनेर चिन्तन गर्न सकियो भने र सिकेको कुरालाई व्यवहारमा उतार्न सकियो भने त्योचाहिँ नेपालको दीर्घकालीन हितमा हुनेछ । कसैले दिएका भरमा मात्र देश समृद्ध हुन सक्तैन ।

चीन र भारत दुबै देश नेपालका छिमेकी देश हुन् र दुबै प्रगतिपथमा लम्किरहेका मुलुकहरू पनि हुन् । नेपालले दुबै देशबाट धेरै कुरा लिन र धेरै कुरा सिक्न पनि सक्छ । यस्तो अवस्थामा नेपालले दुबै छिमेकी देशसँग कूटनैतिक सन्तुलन बनाइराख्न सक्नु नेपालको हितमा हुन्छ । सरकारले गरेका कुनै कार्यले नेपालीको शिर झुक्ने अवस्था नबनोस् र कूटनैतिक सन्तुलन पनि नखल्बलियोस् भन्ने कुरामा सम्बद्ध सबैको ध्यान पुग्नुपर्छ । जे भए पनि २३ वर्षको अन्तरालमा हुनलागेको चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण सफल र उपलब्धिपूर्ण बनोस् र नेपालको विकासमा चीन सहयोगी सिद्ध होस् भन्ने आम नेपालीको चाहनालाई यस भ्रमणले सङ्केत गर्न सकोस् । यस ऐतिहासिक भ्रमणको अवसरमा राष्ट्रपति सीको हार्दिक स्वागत गरौं ।

सम्बन्धित समाचार