नेपालखबर डटकमका सम्पादक कृष्ण ढुंगाना बिहीबार साँझ सडक दुर्घटनामा परी गम्भीर घाइते भएका छन्। काठमाडौं थापाथलीको ब्लुबर्ड कम्प्लेक्सस्थित कार्यालयबाट घर फर्किने क्रममा त्रिपुरेश्वरमा मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका हुन्।
राष्ट्रिय ट्रमा सेन्टरको सघन उपचार कक्ष (आईसीयू) मा राखेर ढुंगानाको उपचार भइरहेको छ। टाउकोमा गम्भीर चोट लागेका उनको बिहीबार राति शल्यक्रिया गरेर मस्तिष्कमा जमेको रगत निकालिएको थियो ।
उपचारमा संलग्न चिकित्सकहरुले उनको स्वास्थ्यमा सुधार भए पनि खतरामुक्त भने नभइसकेको जनाएका छन्।
ढुंगानालाई त्रिपुरेश्वरको प्रहरी बिटअगाडि जेब्राक्रसबाट बाटो काट्दै गर्दा बा.३३ प. २३७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालकलाई थापाथली प्रहरीले नियन्त्रणमा लिएर हाल सिंहदरबार वृत्तमा राखिएको छ।