चिनियाँ राष्ट्रपति आउँदा ६ घण्टा विमानस्थल बन्द हुने

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउँदा झण्डै ६ घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने भएको छ । उनी नेपाल आउँदा तीन घण्टा र फर्किदा तीन घण्टा गरी ६ घण्टा विमानस्थल बन्द हुने भएको हो । सो समयमा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अरू सबै उडान ठप्प हुनेछन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका सूचना अधिकारी तेजबहादुर पौड्यालले सी आउँदा–जाँदा तीन–तीन घण्टा अरू सबै उडान बन्द हुने जानकारी दिएका हुन् ।



चिनियाँ राष्ट्रपति सी शनिबार नेपाल आउँदै छन् । नेपालको राजकीय भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी शनिबार दिउँसो ४ः३० मा काठमाडौं अवतरण गर्ने कार्यतालिका छ ।

विमानस्थलमा अवतरण गरेपछि चिनियाँ राष्ट्रपति सीको राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता तय हुने भएको छ । तालिकाअनुसार साँझ ६ः३० बजे दुई देशका राष्ट्रपतिको भेटवार्ता हुनेछ ।

यसपछि साँझ ७ः१५ मा सीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ । यी भेटवार्तापछि साँझ ७ः३० मा सोल्टी होटलमा रात्रिभोजको आयोजना गरिनेछ ।

आइतबार बिहान १०ः३० बजे सीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन् । त्यस्तै ११ः३० मा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता हुनेछ । भेटमा द्वीपक्षीय हितका साथै विभिन्न सम्झौता हुनेछ । राष्ट्रपति सी आइतबार १ बजे स्वदेश फर्किने छन् ।

सम्बन्धित समाचार