दुई दिने नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रपति सी जिनपिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार साँझ होटल सोल्टीमा रात्रिभोजको आयोजना गरिन् । चीनका राष्ट्रपतिसहितको उच्चस्तरीय टोली रहने होटल सोल्टीमा राष्ट्रपति भण्डारीले गरेको रात्रिभोजमा विशुद्ध नेपाली परिकारलाई मेन्युमा राखिएको थियो।
रात्रिभोजमा चिनियाँ राष्ट्रपतिसहितको टोलीका लागि साँधेको भटमास, क्वाँटी र कुरिलोको सुपसहितका परिकार दिइएको थियो। सीका लागि बारा, ममस्, साँधेको भटमास र सोलुखुम्बुस्थित लुक्लाको सिमीको परिकार पस्किएको थियो। सीका लागि आयोजित रात्रिभोजमा गुल्मीको कफी र इलामको चिया पनि उपलब्ध थियो। चिया र कफी रात्रिभोजको अन्तिममा दिइएको थियो।