आज कोजाग्रत पूर्णिमा, दशै‌ं सकिँदै

नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैं पर्व आजदेखि समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैं सकिन्छ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैं पर्व आम नेपालीले आ-आफ्नो गच्छेअनुसार मनाउँछन्। आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएकोे धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए।



माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ। नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ। लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ। यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ। आज राति जुवा खेल्ने विधानसमेत रहेको उनले बताए।

महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ। टाढा–टाढाबाट आवतजावत गर्नुपर्नेहरुले आजैसम्म मान्यजनका हातबाट टीकाजमरा थाप्ने गर्छन्। दसैंको दशौं दिनदेखि मान्यजनका हातबाट टीका तथा जमरा थाप्ने गरिन्छ।

सम्बन्धित समाचार