सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चाडपर्वको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन १ लाख जनालाई निम्ता गरेको छ । नेकपाले एक लाख कार्ड प्रकाशन गरी वितरण गरेको छ भने आवश्यक तयारी पनि अन्तिम चररणमा पुर्याएको छ ।
नेकपाले असोज २९ गते भृकुटीमण्डपमा मध्यान्ह १२ देखि साँझ ५ बजेसम्म चाडपर्वको शुभकामना आदानप्रदान तथा चियापान आयोजना गर्दैछ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चियापान आयोजना गरेका हुन् ।
उनीहरु दुबै अध्यक्षको हस्ताक्षरमा कार्ड बाँडिएको छ । दशैं, तिहार, छठ, नेपाल संवत, इद, ल्होसार लगायतका नेपाली जनताका चाडपर्वको अवसरमा पार्टीले शुभकामना आदान प्रदान आयोजना गरेको केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।
चियापानमा कुटनीतिक नियोग, उद्योगी व्यवसायी, कलाकार, संवैधानिक अंग, राष्ट्रसेवक, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुलाई निम्ता गरिएको छ । तत्कालिन एमालेका अध्यक्ष मनमोहन अधिकारीले थालेको शुभकामना तथा चियापान कार्यक्रमलाई नेकपाले निरन्तरता दिएको छ ।