राजपा सांसद साह पक्राउ

राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद कुमार साहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार मध्याह्न पक्राउ गरिएको छ । उक्त कुरा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले बताए।

उनका अनुसार सांसद साहलाई पक्राउ गरी जिल्ला अदालत धनुषा पठाउने प्रक्रिया थालिएको छ ।



जिल्ला प्रहरी कार्यालय धनुषाको अनुरोधमा अदालतले सांसद साहविरूद्ध मंगलबार पक्राउ पूर्जी जारी गरेको थियो । पूर्जी जारी भएको केही घन्टामै साह पक्राउ परेका हुन्।

साह काठमाडौंबाट जनकपुर फर्किने सिलसिलामा त्रिभुवन विमानस्थल पुगेका थिए।

सांसद साहले सोमबार बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा तोडफोड र कर्मचारीलाई अभद्र व्यवहार गरेका थिए । उनी सर्लाहीबाट निर्वाचित राष्ट्रिय जनता पार्टीका सदस्य हुन् ।

समयमा जहाज नआएको भन्दै सांसद साहले सोमबार दिउँसो बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा तोडफोड, अभद्र व्यवहार गर्नुका साथै काउन्टरमा बसेका कर्मचारीलाई धकेलेका थिए। सोमबार बिहान ११ :४० मा उडान हुनुपर्ने बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म नआएको भन्दै उनले आक्रोश पोखेका थिए।

अढाइ बजे बल्ल बुद्ध एयरको जहाज आएपछि सांसद साह शान्त भए पनि बुद्ध एयरका कर्मचारीले चढाउन मानेका थिएनन्। तर, प्रहरी र धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले झगडा मिलाएर साहलाई काठमाडौं उडाएका थिए।

सम्बन्धित समाचार