मन्त्रिमण्डल हेरफेरः नयाँ मन्त्रीमा जस्को चर्चा छ

मन्त्रीमण्डल पुनर्गठनबारे निर्णय लिन नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बसिरहेको छ । पछिल्लो समय सरकारको कार्यशैलीप्रति पार्टीभित्रै समेत असन्तुष्टि बढ्दै गएपछि प्रधानमन्त्रीले मन्त्रिमण्डल हेरफेरको तयारी गरेका हुन् ।

कृष्णबहादुर महरा सभामुखबाट बहिर्गमन भएपछि सत्तारुढ दल नेकपालाई सभामुख लिन उपसभामुख छोड्नुपर्ने भएको छ । त्यसको लागि उपसभामुख डा शिवमाया तुम्वाहाम्फेले राजीनामा दिनुपर्ने हुन्छ । प्रधानमन्त्रीले तुम्वाहाम्फेलाई उपसभामुखबाट राजीनामा गराएर मन्त्री बनाउने योजना बनाएको स्रोतले बताएको छ ।



महराको बहिर्गमनपछि सभामुख बन्न पूर्व सभामुखद्वय सुवास नेम्वाङ तथा ओनसरी घर्ती, पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङ र अग्नि सापकोटाबीच दौडधुप शुरु भएको छ । माओवादी पक्षबाटै सभामुखमा आकांक्षी बढी हुँदा दाहाल अप्ठ्यारोमा परेका छन् । माओवादी पक्षबाट आकांक्षी धेरै भएपछि सभामुखमा सुवास नेम्वाङ नै आउने सम्भावना बढी छ । नेम्वाङले यसअघि सभामुख हुँदा दुई कार्यकाल नै प्रभावकारी भूमिका निर्वाह गरेका थिए। त्यहीकारण उनी फेरि सभामुखको लागि प्रवल दावेदार बनेका छन् ।

नेम्वाङलाई सभामुख बनाए, गुरुङ र सापकोटा र पम्फा भुसाललाई मन्त्रिमण्डलमा समेट्नुपर्ने अध्यक्ष दाहालको बाध्यता छ । त्यस्तै पूर्व मन्त्री सुरेन्द्र पाण्डे फेरि मन्त्री हुने सम्भावना बढी छ । उनलाई अर्थमन्त्री बनाउने तयारी भइरहेको स्रोत बताउँछ । अहिलेका अर्थमन्त्री डा युवराज खतिवडाको राष्ट्रिय सभा सदस्य कार्यकाल सकिन लागेकोले पाण्डेलाई उनको ठाउँमा ल्याउन लागिएको हो ।

सम्बन्धित समाचार