राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मार गणतन्त्र संघका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा पाँच दिने राजकीय भ्रमणकालागि म्यानमार प्रस्थान गरेकी छिन् ।
म्यानमार जानका लागि राष्ट्रपति भण्डारी शीतल निवासबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म हेलिकोप्टरमा गएकी थिइन्। नेपाली सेनाको एमआइ १७ हेलिकोप्टर चढेर उनी विमानस्थल पुगेकी हुन् ।
यसअघि राष्ट्रपतिको सवारीका कारण सर्वसाधारणले सास्ती व्यहोरेको भन्दै विरोध हुने गरेपछि उनी हेलिकोप्टर मार्फत विमानस्थल पुगेकी हुन् । राष्ट्रपतिको सवारीका क्रममा सडक खाली गरिने र सर्वसाधारणले सास्ती पाएको भन्दै विरोध हुने गरेको थियो ।
‘सर्वसाधारणलाई सवारीका कारण सास्ती नहोस् भन्नका लागि हेलिकोप्टरको प्रयोग गरिएको’ शीलत निवास स्रोतले जानकारी दियो ।
म्यान्मार भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी मिन्तसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारीसँग म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीले भेट गर्नेछन् ।
राष्ट्रपति भण्डारी र उनको प्रतिनिधिमण्डलको सम्मानमा म्यान्माली राष्ट्रपति मिन्तले राजकीय भोजको आयोजना गर्नेछन् । म्यान्मामा रहँदा राष्ट्रपति भण्डारीले नेपाली मूलका नागरिकसँग पिन ओ लिनमा भेटघाट गर्नुका साथै युनेस्कोको विश्व सम्पदा बगान र यङ्गोनको भ्रमण गर्ने जनाइएको छ । यङ्गोनमा उनले ऐतिहासिक एवं सांस्कृतिक महत्वका स्थानको भ्रमण गर्नेछिन् ।
राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिव, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी रहने मन्त्रालयको प्रेस विज्ञप्तिमा जनाइएको छ । राष्ट्रपतिको प्रतिनिधिमण्डल बुधबार बिहान नेपाल एयरलायन्सबाट बैंकक हुँदै म्यान्माको राजधानी नेपित पुग्नेछ ।