सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधिसभा सदस्य पार्वत गुरुङलाई पक्राउ गर्न पुर्जी जारी भएको छ । नेकपाका केन्द्रीय सदस्य समेत रहेका दोलखाका सांसद गुरुङलाई ज्यान मार्ने मुद्दा अन्तर्गत पक्राउ पुर्जी जारी भएको हो ।
ज्यान मार्ने उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय दोलखाले सांसद गुरुङलाई पक्राउ पुर्जीको म्याद तामेल गरेको हो ।गुरुङको नाममा जारी भएको पक्राउ पुर्जी गौरीशंकर गाउँपालिकाका अध्यक्ष स्वयंबहादुर खड्काले बुझेका थिए ।
वीरध्वज खड्काको जाहेरीले २९ वैशाख ०७६ मा काठमाडौँ जिल्ला अदालतमा सांसद गुरुङविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको थियो । सांसद गुरुङविरुद्ध खड्काले २०७६ को वैशाख २९ गते काडमाडौँ जिल्ला अदालतमा ज्यान मार्ने कसुरको जाहेरी दर्ता गरेका थिए ।
सो मुद्दामा गुरुङसँगै दोलखाको गौरीशंकर गाउँपालिकाकै मिनबहादुर तामाङ, कसराङ मन्ने कर्ण तामाङ, उर्मिला थामी, जीवन तामाङ, सागर तामाङ, सविन तामाङलाई प्रतिवादी बनाइएको छ ।