नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका २१ जना नेता कार्यकर्ता दाङबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा विप्लव समूहका मध्यपश्चिम कमाण्ड इञ्चार्ज चन्द्र बहादुर चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो ईञ्चार्ज सुवास बाठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका छन्। चन्द्र बहादुर चन्द पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवका दाजु भएको बताइएको छ।
दाङको राजपुर गाउँपालिका– ४ को मुग्रेटाखोलास्थित एक जंगलबाट मध्यराति उनीहरुलाई पक्राउ गरिएको दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिए।
‘जंगलको बीचमा रहेको मान्छे नबस्ने एक्लो घरमा बैठक बसिरहेको अवस्थामा हामीले उनीहरुलाई पक्राउ गरेका हौँ’, एसपी भट्टराईले भने, ‘उनीहरुलाई घटनास्थलबाट हामीले प्रहरीको गाडीमा राखेर सदरमुकाम ल्याउँदैछौँ। थप विवरण पछि खुलाउँछौँ।’
पार्टीको आन्तरिक तयारी बैठक गर्दै गर्दा उनीहरुलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ।
जंगलमा बैठक तयारी भइरहेको सूचनाका आधारमा प्रहरी कार्यक्रम स्थल पुगेको थियो। बिहीबार राति १ बजेतिर उनीहरुलाई पक्राउ गरिएको एसपी भट्टराईले बताए।
विप्लव नेतृत्वको नेकपाले पनि आफ्ना नेता कार्यकर्ता पक्राउ परेको पुष्टि गरेको छ। सरकारले पछिल्लो समय विप्लव नेकपाविरूद्ध राजनीतिक गतिविधिमा बन्देज लगाएको छ।
पक्राउ परेका व्यक्तिहरु
१. केशवबहादुर बाँठा मगर (सुवास) –राप्ती ब्युरो ईन्चार्ज
२. चन्द्रबहादुर चन्द (वीरजङ्ग) –केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यरो ईन्चार्ज एवम् मध्य पश्चिम कमाण्ड ईन्चार्ज
३. रामबहादुर थापा (सुन्दर) – राप्ती ब्युरो एवम् न्याय विभाग समिति जिल्ला संयोजक
४. सविन पोख्रेल –राप्ती ब्युरो कार्यालय सचिव
५. यमलाल कटुवाल (विक्रम) ( जिल्ला ईन्चार्ज
६. प्रदीप वली – जिल्ला सेक्रेटरी
७. बविन केसी (पाटन, जंगली) – युव संगठन नेपाल केन्दीय अध्यक्ष
८. सुनिल पौडेल–वुद्धिजिवी
९. एकराज चौधरी ( एरिया नम्बर ४ ईन्चार्ज एवम् जिल्ला जनपरिषद् सदस्य
१०. धनबहादुर बोहोरा (महान) ( एरिया नम्बर) ईन्चार्ज एवम् राजपुर गा पा सेक्रेटरी
११. तिलक पुन – पूर्व जनमुक्ति सेना
१२. सुरज विक – दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष
१३. हितप्रसाद रोका – पार्टी सदस्य
१४. पोष्टमान घर्ती – रोल्पा जिल्ला
१५. दल बहादुर घर्ती
१६. अमित घर्ती मगर
१७. बालकृष्ण शर्मा
१८. जीत क्षेत्री
१९. रमेश आचार्य
२०. कुल बहादुर वली
२१. विष्णु थापा