नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले वर्तमान सरकार छिमेकी राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सफल भएको बताएका छन् । उनले नेपाल–भारत तथा नेपाल र चीन दुई छिमेकी राष्ट्रसँगको सम्बन्धलाई सरकारले गुणात्मक रुपमा अगाडि बढाएको बताए ।
रुपन्देही उद्योग सङ्घको ४१औँ साधारणसभा तथा २१औँ अधिवेशनको आज बुटवलमा उद्घाटन गर्दै महासचिव पौडेलले सरकारले नेपाल र नेपालीको हित तथा नेपालको विकासमा चीन र भारतको दह्रो साथ समर्थन जुटाएको बताए । उनले चिनियाँ राष्ट्रपतिको गृह नगर सियान शहर र बुटवल उपमहानगरपालिकाबीच भएको भगिनी सम्बन्ध र चीनसँगको सम्बन्धले बुटवलको विकासमा समेत सहयोग पुर्याउने बताए । महासचिव पौडेलले निजी क्षेत्रको सहकार्य र लगानीबिना समृद्ध राष्ट्र निर्माण सम्भव नभएको भन्दै उनले उत्साहका साथ ढुक्क भएर लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे।
महासचिव पौडेलले उद्योगी व्यवसायीका समस्या समाधान गर्नका लागि सरकार लागि परेको र देशको अर्थतन्त्रलाई बलियो बनाउन लगानी बढाउन निजी क्षेत्रलाई सरकारले अभिप्रेरित गर्ने बताए । उनले हरेक वर्ष जोखिमपूर्ण बनेको बुटवल–पाल्पाको सिद्वबाबाको सडकलाई सुरक्षित बनाउन सुरुङ मार्गका लागि सरकारले बजेटको व्यवस्था गरेको उल्लेख गर्दै चालू आवमा नै सुरुङ मार्गको काम शुरु हुने जानकारी दिए ।