गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वको लागि भएको निर्वाचनको मतगणनाका क्रममा विहीबार मध्यराति लफडा भएको छ । एकजना अध्यक्षका प्रत्यासीका प्रतिनिधिले मतगणनास्थलमा छिर्न नपाएपछि हंगामा गरेका हुन् । अध्यक्षका एकजना उम्मेदवार कुल आचार्य र उनका प्रतिनिधिलाई मतगणनास्थलमा छिर्न नदिएको भन्दै उनका समर्थकले लफडा गरेपछि प्रहरीले हस्तक्षेप नै गर्नुपरेको हो ।
नाराबाजी गर्दै अघिल्लो दिनको जस्तै हायात होटलको लबीमा तोडफोड गर्न खोजेपछि मुख छाडाछाड र हात हालाहालको अवस्था उत्पन्न भएको थियो । कुमार पन्त र आचार्यका समर्थकबीच हात हालाहाल भएपछि तत्कालै त्यहाँ खटिएको प्रहरीले लाठी चार्ज गरेर अवस्था साम्य पारेको थियो । दुई पक्षबीच तनाव भएपछि मतगणना नै रोकिन पुगेको थियो ।
विवादका कारण विद्युतीय भोटिङ मेसिन हटाएर मतपत्र नै प्रयोगमा ल्याएपछि विहीबार दिनभर मतदान भएको थियो। विद्युतीय मेशिनबाट भएको भए हिजै नतिजा सार्वजनिक भइसक्थ्यो । तर विहीबार भएको मतदानको परिणाम शुक्रबार आउने बताइए पनि पटक पटकको लफडाले गणना लम्बिँदै गएको छ ।