भारत–पाकिस्तानबीचको पछिल्लो लडाइँमा पदमबहादुर श्रेष्ठ र गामिल कुमार श्रेष्ठको मृत्यु भएको छ । उनीहरुको नाम नेपालीजस्तो भए पनि कुन देशका हुन् भन्ने खुलाइएको छैन ।
गएराती पाकिस्तान नियन्त्रित कश्मिर (पीओके) मा भारतीय सेनाले आक्रमण गरेको थियो । पाकिस्तानले पनि भारततर्फ आक्रमण गरेको थियो । पाकिस्तानतर्फबाट भएको आक्रमणबाट भारतीय सेनामा कार्यरत हवल्दार पदमबहादुर श्रेष्ठ र राइफलम्यान गामिल कुमार श्रेष्ठको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
भारतीय समाचार एजेन्सी पीटीआईका पत्रकार सञ्जीभ चोपराका अनुसार ‘उनीहरुको ठेगाना त खुलिसकेको छैन, तर गोर्खा रेजिमेन्टका हुनसक्ने अनुमान छ ।’
यस्तै ५५ वर्षीय मोहम्मद सादिक नामका एक सर्वसाधारण नागरिकको पनि मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।
भारत र पाकिस्तान दुवैले एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् । भारतीय सेनाको तर्फबाट जारी विज्ञप्तिमा पाकिस्तानले भारतीय क्षेत्रमा आतंकवादीहरुको घुसपैठ गराएर युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ । त्यसको बदलामा भारतीय सेनाले पनि आतंकवादी समूहको क्षेत्रमा आक्रमण गरेको भारतीय स्थल सेनाप्रमुख जनरल विपिन रावतले बताएका छन् । भारतीय सेनाको आक्रमणबाट पाकिस्तानको सीमामा ६ देखि १० जनासम्म आतंकवादी मारिएको र उनीहरुका तीनवटा क्याम्प ध्वस्त बनाएको दाबी रावतको छ ।