कपाल झर्न रोक्ने आयुर्वेदिक उपाय

कपाल झरेर, टुक्रेर अनि हाँगा पलाएर हैरानी खेप्ने मानिसहरू थुप्रै छन् । संसारभरका मानिस यस्तो समस्याबाट पीडित छन् । उसो त एक दिनमा १०० वटासम्म कपाल झर्नुलाई सामान्य मानिन्छ तर जब यो संख्यामा बढोत्तरी हुनथाल्छ तब चिन्ता बढ्नु स्वाभाविक हुनजान्छ । यो समस्या महिलाको तुलनामा पुरुषलाई बढी हुने गरेको छ ।

बदलिँदो जीवनशैली र खानपानमा लापरवाही कपाल झर्नुका मुख्य कारण हुन् । यी बाहेक खनिज पदार्थको कमी, हेयर प्रोडक्ट्समा हालिएका रसायन, औषधिहरू, प्रदूषण एवं तनावका कारणसमेत कपाल झर्ने समस्या सिर्जना हुन्छ । हेलमेटका कारण पनि कपाल झर्ने समस्या सिर्जना हुनसक्छ । पहिले उमेर प्रौढ भएपछि मात्रै देखिने यस्तो समस्याले हिजोआज किशोरकिशोरीलाई समेत गाँज्न थालेको छ ।



यस्तो अवस्थामा प्रभावकारी औषधिको पहिचान गर्नु र समस्यालाई जरैदेखि निराकरण गर्नु हरेकको चाहना हुनु स्वाभाविकै हो । यस्तो समस्याबाट पीडित भएकाहरूका लागि आशाको सञ्चार गराउने एउटा प्रभावकारी उपाय हो– तिब्बती आयुर्वेदिक उपचार । कपाल झर्ने समस्यालाई पूर्ण रूपमा रोक्ने यो उपचार निकै लाभदायक हुनुका साथै प्राकृतिक एवं हानिरहित छ ।

यो उपायमा विभिन्न किसिमका जडिबुटीको सम्मिश्रणबाट उपचार गरिन्छ । यसमा मुख्य गरी सिकाकाई, अमरबेल, अमला र रिट्ठाको प्रयोग हुन्छ । यी सबैलाई तोरीको तेलका साथ प्रयोगमा ल्याइन्छ । यसले कपाल झर्न रोक्ने मात्र नभई कम उमेरमै कपाल फुल्ने समस्याको समेत समाधान गर्छ ।

तयार पार्ने विधि

बराबर मात्रामा (उदाहरणका लागि २५–२५ ग्राम) सिकाकाई, अमरबेल, अमला र रिट्ठालाई मिसाउने । यी सबै बजारमा किन्न सकिन्छ । तर किन्दाखेरि धेरै पुरानो पर्ला कि भनेर सावधानी अपनाउनुपर्छ ।

अब यी सामग्रीलाई राम्रोसँग सफा पानीले धोएर घाममा सुकाउने । सुकिसकेपछि ती सबैलाई पिसेर मसिनो चूर्ण बनाउने । पिस्नका लागि सकेसम्म मिक्स्चरभन्दा सिलौटो प्रयोग गर्ने । यसरी पिसिसकेको चूर्णलाई शुद्ध तोरीको तेलमा डुब्ने गरी हालेर राख्ने । केही दिनमै यो तेलको रंग रातो हुन्छ भने औषधिको धूलो तेलको पिँधमा थिग्रिएर बस्छ । यसरी १०–१५ दिनपछि नै यो तेल औषधीय प्रयोगका लागि योग्य हुन्छ ।

प्रयोग गर्ने विधि

यसरी तयार भएको तेलले कपालमा मालिस गर्ने । मालिस गरेपछि कपाललाई राम्रोसँग छोप्ने । यो विधि हरेक तीन–तीन दिनको फरकमा अपनाउने । यसो गर्दा टाउकाको रक्तसंचार राम्रो हुन्छ । कपालमा चाया छ भने त्यो पनि हट्छ । सबैभन्दा ठूलो कुरो कपाललाई पर्याप्त पोषण मिल्छ ।

विशेष गरी यस्तो मसाज रातमा गर्ने । किनभने यसो गर्दा रातभरि औषधीय तेलले आफ्नो काम गर्न पाउँछ । अनि भोलिपल्ट बिहान अर्गानिक वा नरम खालको (माइल्ड) स्याम्पुले नुहाउने । यो उपायले कपाल झर्ने समस्या पूर्ण रूपले निराकरण हुन्छ ।

सम्बन्धित समाचार