एलपी पौड्याल
काठमाडौं, ५ कात्तिक ।
त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायका पूर्वडीन तथा बजारशास्त्र विज्ञ प्राडा कुन्दनदत्त कोइरालालाई हालै काठमाडौंको नयाँ बानेश्वरमा आयोजित एक विशेष कार्यक्रममा सम्मान गरिएको छ । त्रिवि बजारशास्त्र विषय समितिले ०७६ सालको तिहारको पूर्वसन्ध्यामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्राडा कोइरालालाई उनले व्यवस्थापन र बजारशास्त्र विषयमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै सम्मान गरेको हो ।
कार्यक्रममा त्रिवि बजारशास्त्र विषय समितिका अध्यक्ष प्राडा बगला बस्तेत, सदस्य सचिव सह–प्राध्यापक डा. गोपाल थापा, पद्मकन्या क्याम्पसकी सह–प्राध्यापक नीरा श्रेष्ठ, शंकरदेव क्याम्पसकी उप–प्राध्यापक मीखा श्रेष्ठ, त्रिवि व्यवस्थापन केन्द्रीय विभागका बजारशास्त्र शिक्षण समितिका अध्यक्ष सन्तोषकुमार घिमिरे, नेपाल कमर्श क्याम्पसका उप–प्राध्यापक भरत राई, त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरका उप–प्राध्यापक सुशील अवालेलगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
सम्मानित व्यक्तित्व प्राडा कोइरालाले आफूलाई सम्मान गरेकोमा आयोजकलाई हार्दिक धन्यवाद प्रकट गर्दै अध्ययन–अध्यापनका क्रममा आफूले भोगेका तीता मिठा अनुभवहरूलाई मार्मिक ढङ्गले प्रस्तुत गर्दै बजारशास्त्र विषयको उन्नयनका लागि महत्वपूर्ण सुझावहरूसमेत दिएका थिए ।
कार्यक्रममा त्रिवि बजारशास्त्र विषय समितिकी अध्यक्ष प्राडा बगला बस्नेतले सम्मानित व्यक्तित्व प्राडा कोइरालाले पुर्याएको योगदानको चर्चा गर्दै बजारशास्त्र विषयको उन्नयनका लागि भविष्यमा पनि प्राडा कोइरालाबाट अमूल्य राय र सुझाव पाइरहने कुरामा आशा व्यक्त गरिन् भने पद्मकन्या क्याम्पसकी सह–प्रा. नीरा श्रेष्ठले ‘केस बेस्ड लर्निङ’ मा प्राडा कोइरालाबाट आफू धेरै प्रभावित भएको धारणा राखिन् ।
बोल्नेक्रममा शंकरदेव क्याम्पसकी उप–प्रा. मीखा श्रेष्ठले आफू एमफिलकी विद्यार्थी हुँदा प्राडा कोइरालाको अध्यापनबाट प्रभावित भएरै आफू पनि बजारशास्त्रको अध्यापन आरम्भ गरेको रोचक धारणा व्यक्त गरिन् । नेपाल कमर्श क्याम्पसका उप–प्रा. भरत राईले आफूले एमबीए गर्दादेखि पिएचडी गर्दासम्म प्राडा कोइरालाको विद्यार्थी हुन पाएकोमा गौरव महसुस गरेको विचार व्यक्त गरे । आफ्नो विचार राख्नेक्रममा त्रिवि केन्द्रीय क्याम्पसका उप–प्रा. सुशील अवालेले प्राडा कोइरालाको बजारशास्त्र विषयको पुस्तकमा सहलेखन गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै प्राडा कोइरालाको बहुआयामिक व्यक्तित्वबाट आफू प्रभावित भएको धारणा राखे ।
शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमका संयोजक तथा त्रिवि बजारशास्त्र विषय समितिका सदस्य सचिव डा. गोपाल थापाले सम्मानित व्यक्तित्व प्राडा कोइरालासँगसँगै काम गर्ने अवसर पाएकोमा अत्यन्त खुसी व्यक्त गर्दै प्राडा कोइरालाबाट सिकेको कुरा र प्राप्त गरेको उपलब्धिका बारेमा सविस्तार चर्चा गरेका थिए । उनले अगाडि भने ‘साना साना प्रयासहरूबाट पनि कहिलेकाहीं ठूला ठूला उपलब्धिहरू हासिल गर्न सकिने र साथीभाइबीच नवीन विचार तथा नयाँ दृष्टिकोणहरूको विनिमय गर्न पनि यस्ता कार्यक्रमहरू सहायक सिद्ध हुने भएकोले भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने कुरामा मेरो प्रयास जारी रहने छ ।’
कार्यक्रमको अन्त्यमा सबैले एक आपसमा तिहारको शुभकामना आदान–प्रदान गरेका थिए ।