हरेक दिनजसो पशुपति आर्यघाटमा शव जलाउन मान्छेहरु आइरहेका हुन्छन् । आफन्त गुमाउदाको पिडासँगै अब अर्को तनाव
सुरु भएको छ । भएको के भने लास जलाउनेहरुले विभिन्न माग राखेर आन्दोलन थालेका छन् । शव जलाउनेहरु आन्दोलित भएपछि शव जल्ने कुरै भएन । कामदारहरु शव जलाउन छाडेर आन्दोलित भएपछि पशुपति क्षेत्र विकास कोषले वार्ता थालेको जानकारी दिएको छ । आफुहरुका माग पूरा नभएको भन्दै उनीहरुले बुधबार विहानदेखि आन्दोलन थालेका हुन् ।
कामदारहरुले विहान ६ बजेदेखि अनिश्चितकालका लागि शव दाह गर्ने, दाउरा बोक्ने र खाडल खन्ने काम बन्द गरेको एक पत्रमार्फत जानकारी दिएका छन् । शव जलाउनेहरुले आन्दोलन थालेपछि पशुपति आर्यघाटमा असहज परिस्थिति सिर्जना भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकाल अनुसार असन्तुष्ट पक्षसँग वार्ता भइरहेको छ ।