रुपन्देहीमा पर्यटकको बसाई अवधि लम्ब्याउन पर्यटनसम्बन्धी योजना बनाएर कार्यान्वयन गर्न आवश्यक रहेकोमा जोड दिइएको छ । जिल्लामा पर्यटकको बसाई लम्ब्याउने विषयमा पर्यटन पत्रकार महासङ्घ रुपन्देहीले आज बुटवलमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सरोकारवालाले सरकार र निजी क्षेत्रबीच समन्वय गरी उचित योजना बनाएर तत्काल कार्यान्वयन गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० का प्रदेश सहसंयोजक माधव नेपालले जिल्लाको पर्यटन प्रवद्र्धनका लागि प्रभावकारी योजना बनाएर तत्काल कार्यान्वयन गर्न आवश्यक रहेकाले त्यसको शुरुआत निजी क्षेत्रबाट गर्न आग्रह गरे।
पर्यटनमा आतिथ्यता प्रमुख पाटो रहेकाले भन्सार, यातायात तथा सम्बन्धित क्षेत्रमा पर्यटकलाई गरिने राम्रो आतिथ्यताले सकारात्मक प्रभाव पर्ने बताए । “पर्यटन यस्तो उद्योग हो, यसमा ढिलो फल लाग्छ तर फल लागेपछि टिपेर सकिदैन”, उनले भने।
लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सब्बिर अहमद खानले लुम्बिनीको प्रचारप्रचार र पर्यटन प्रवद्र्धनमा विकास कोष लागिरहेको बताए । उनले पर्यटन प्रवद्र्धनका लागि स्थानीयलाई पनि जागरुक बनाउनुपर्ने बताए ।
कार्यक्रममा अध्यागमन कार्यालय बेलहियाका निमित्त प्रमुख प्रेमबहादुर रोकाहाले जिल्लाका पर्यटकीय स्थलको व्यापक प्रचारप्रसार गरेर पर्यटक भित्र्याउन सकिने बताए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै दोभान एकीकृत पर्यटन विकास समितिका अध्यक्ष दलबहादुर गुरुङले रुपन्देहीका पर्यटकीय स्थल र संस्कृतिको खोजी गरी प्रचार गर्न आवश्यक रहेको बताए ।