समाज बनाउने जिम्मा हाम्रो आफ्नै दायित्व हो: अध्यक्ष थापा

अन्तर्राष्ट्रिय गलकोट समाजका संयोजक बेलुकाजी थापाले समाज बनाउने जिम्मा हाम्रो आफ्नै दायित्व भएको बताएका छन् । जनहित कला केन्द्र गलकोट नगरपालिका ७ मल्म, बागलुङको पाँचौं वार्षिकोत्सव तथा सातौं तिहारे मेलाको समुदघाटन गर्दै यस्तो विचार व्यक्त गरेका हुन् ।

समाजमा विकृति विसङ्गति न्यूनीकरण गर्दै समृद्ध समाज निर्माण गर्न सामाजिक संस्था र सम्पूर्ण युवाहरू एकजुट हुनुपर्ने संयोजक थापाले बताए । जन्मभुमिप्रतिको श्रद्वा र सम्मान गर्दै सामाजिक चिन्तन र अग्रसरता राख्न सके मात्रै सभ्य र समृद्ध समाज निर्माण हुने उनको भनाइ छ ।



‘नेपालीको गर्व उज्यालो पर्व, दरम घुम्टे हामी सबैको शान, खेल कला संस्कृति हाम्रो स्थानीय पहिचान’ भन्ने मुल नाराका साथ शुभारम्भ भएको मेलामा नगद रु २५ हजार राशी पुरस्कार रहेको साविकको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला एकल नृत्य प्रतियोगिता, वडा स्तरीय पुरुष रस्साकसी प्रतियोगिता, खुल्ला भाइमाला उन्ने प्रतियोगिता आदि सञ्चालन गरिने बताइएको छ ।

मेलामा स्थानीय कला संस्कृति झल्कने देउसी भैलो, सोरठी, नौमती बाजासमेत प्रस्तुत गरिने संस्थाका अध्यक्ष ज्ञानबहादुर थापाले बताए । मेलाको अवसरमा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरू विष्णु खत्री, वसन्त थापा, दुर्गेश थापा, ईश्वर सिंह, कर्ण परियार, राम खत्री लगायतको बेजोड सांगीतिक प्रस्तुति रहने बताइएको छ । त्यस्तै पछिल्लो समय गाउँ घरमा लोप हुँदै गइरहेको परम्परागत लिङ्गे पिङ, चर्खे (चमाचा) पिङ मेलाको आकर्षणको रूपमा राखिएको छ । कात्तिक ९ गतेसम्म सञ्चालन हुने मेलामा प्रायोजक, चन्दादाता, कलाकार लगायतलाई सम्मान गरिने संस्थाले जनाएको छ ।

उद्घाटन कार्यक्रमको अध्यक्षता जनहित कला केन्द्र गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष ज्ञानबहादुर थापाले गरेका थिए भने उपाध्यक्ष चिरञ्जीवी मरासिनीको स्वागत मन्तव्य दिएका थिए । उद्घाटन कार्यक्रमलाई सचिव कोपिला खडका र सहसचिव राजकुमार दर्जीले उद्घोषण गरेका थिए ।

सम्बन्धित समाचार