डोजर प्रकरणः घाइतेलाई उपचारका लागि भारत लगियो

दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा डोजरले हुत्याउँदा घाइते भएकी गौरी जोशीलाई थप उपचारका लागि भारत लगिएको छ । यसअघि उनको धनगढी र नेपालगञ्जमा उपचार गरिएको थियो । बेहोस हुने समस्या कायम रहेकाले थप उपचारका लागि भारत लैजानु परेको गौरीका श्रीमान् जगदिश जोशीले बताए ।

गौरीलाई नेपालगञ्जमा उपचार गरी घर ल्यायँदै थियो । उनलाई बाटोमा असहज भएपछि थप उपचारका लागि भारत लगिएको हो । जगदिशका दाजु बिसनदत्त जोशीका अनुसार गौरीलाई उपचारका लागि भारत लगिएको र आफू उपचार खर्च जुटाउन घर फर्किएको बताए । “उपचार गराउन खर्च अभाव भएको छ, मजदूरी गरेर खाने मान्छे उपचार गराउन कहाँबाट पैसोको जोहो गर्नु”, उनले भने ।



नेकपाको ध्यानाकर्षण
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैतडीले दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा भएको डोजर प्रकरणमा आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेकपाले गत सोमबार स्थानीयवासीबीच विवाद हुँदा घटेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

नेकपा बैतडीका अध्यक्ष सुरेन्द्र पालले आज विज्ञप्ति जारी गर्दै दशरथचन्द नगरपालिकाले नै सुणन्नाखानदेखि पार्स जोड्ने सडक खन्नका लागि अनुमति दिएको, नगरप्रमुख आफैँले सडकको उद्घाटन गरेको र दुई सडक निर्माणका लागि नगरपालिकाले आश्वासन दिएको बताए । नेपाली काङ्ग्रेसका क्रियाशील सदस्य गोपालदत्त जोशीलाई समितिको अध्यक्ष बनाई अर्को सडक खन्न लगाउँदा विवाद भएको पालको आरोप छ । काङ्ग्रेससँग आबद्ध शिक्षक दुर्गादत्त जोशीको उक्साहटमा सडक निर्माण गरिरहेका बेला एक्कासी निर्माण गर्ने पक्षमाथि आक्रमण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार