मनोज कार्की
काठमाडौं, ९ कात्तिक ।
प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच आज बाकु कङ्ग्रेस केन्द्र परिसरभित्र भेटवार्ता भएको छ । बाकुमा भइरहेको असंलग्न अभियानको अठारौँ शिखर सम्मेलनका क्रममा उनीहरूबीच सो भेटघाट भएको हो । भेटघाटमा उनहिरुबीच ऊर्जा सहयोग, पारवहन सहयोगको सही उपयोग, व्यापारिक क्रियाकलापलाई गति दिनुपर्ने पक्षका साथै दुईपक्षीय सम्बन्ध र आपसी अभिरुचिका विषयमा छलफल भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
दुई नेताबीच हाल अवरुद्ध भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को प्रक्रिया र यसलाई पुनःआफ्नो मार्गमा ल्याउन नेपाल तथा बङ्गलादेशले संयुक्तरुपमा गर्नसक्ने कार्यका विषयमा पनि छलफल भएको थियो ।
यसैगरी बाकु कङ्ग्रेस केन्द्रमै प्रधानमन्त्री ओली र पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीबीच आजै भेटवार्ता भएको छ । भेटमा उनीहरुबीच दुईपक्षीय चासोका विषयमा छलफल भएको छ । हिन्दू कुश हिमालयमा मौसम परिवर्तनले पारेको नकारात्मक प्रभाव, सार्कको अवरुद्ध प्रक्रिया र दुवै मुलुकले भोगेका विद्यमान तथा उदाउँदा चुनौतीका विषयमा उहाँहरुबीच छलफल भएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।
बैठकका समयमा नेताहरुले सार्कका सदस्य मुलुकबीच मतभेद कम गरी यसलाई पुनःसक्रिय बनाउनुपर्ने तथा क्षेत्रीय शान्तिलाई प्रवद्र्धन गर्नुपर्ने कुरामा छलफल गरेको मन्त्री ज्ञवालीले बताए ।
प्रधानमन्त्री ओलीले शुक्रबार साँझ अजरबैजानका राष्ट्रपति तथा १८ औँ नाम शिखर सम्मेलनका अध्यक्ष इल्हाम अलियभसँग शिखर बैठकका प्रतिनिधिमण्डलका नेताहरुका लागि आयोजित रात्रिभोजमा भेटवार्ता गरेको मन्त्री ज्ञवालीले बताए । प्रधानमन्त्री ओलीले राष्ट्रपति अलियभलाई शिखर सम्मेलन सफलतापूर्वक आयोजना गरेकामा धन्यवाद दिनुभएको तथा अभियानप्रति नेपालको पूर्ण प्रतिवद्धता रहेको बताएका थिए । उनले आउँदा तीन वर्षमा असंलग्न अभियानका सञ्चालनमा अजरबैजानलाई सकेसम्म सहयोग गर्ने बचन दिनुभएको पनि मन्त्री ज्ञवालीले उल्लेख गरे ।
पाकिस्तानका राष्ट्रपति तथा बङ्गलादेशका प्रधानमन्त्रीसँगको भेटवार्तामा परराष्ट्रमन्त्री ज्ञवाली, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा राजन भट्टराई पनि उपस्थित थिए ।