मनोजराज रेग्मी
काठमाडौं, ११ कात्तिक ।
मानिस आफ्नो सुःख र दुःखको कर्ताधर्ता स्वयं हो । जस्तो विचार र कार्य हुन्छ त्यसको परिणाम पनि त्यस्तै आउँछ । यो सिद्धान्तलाई बुझेपछि प्रत्येक समझदार र विवेकी व्यक्तिले त्यस्ता कुराको मात्रै संकल्प गर्दछ जसबाट उसलाईृ शान्ति र आनन्द आउँछ । तर वर्तमान मान्छेको बिडम्बना छ कि ऊ कल्पनाको यस्तो आकाशमा उडिरहेको हुन्छ जहाँ तनाव, असन्तुलन र भ्रमको बादल मडारिइरहेको हुन्छ ।
आजको मान्छे यथार्थको धरातलमा खुट्टा नराखिकन काल्पनिक लोकमा विचरण गर्न उद्यत रहन्छ । यो अहिलेका माानिसहरूको एउटा ठूलो र साझा समस्या हो । जेस सी. स्काटले एकचोटी भनेका थिए– ‘सबभन्दा चम्किलो प्रकाशको पछाडि अँध्यारो पनि हुन्छ । जब जब तपाई आफूलाई शुद्ध गर्दै जानुहुन्छ, आनन्दित र सन्तुलित जीवन जीउन प्रयास गर्नुहुन्छ, तब तब तपाईंको छायाँ ठूलो हुन थाल्दछ । तपाईंको अध्याँरो पक्षले उज्यालोको माग गर्न थाल्दछ ।’
प्रत्येक व्यक्ति आज चाँडोभन्दा चाँडो सफलता प्राप्त गर्न चाहन्छ , तर यो सहज छैन । जब ऊ गलत मूल्यमा बाँचेका व्यक्तिहरूको ख्याति र समृद्धिलाई देख्दछ तब उसको मनमा पनि सफलताको सिढीं चढ्ने लालच पैदा हुन थाल्दछ । तर जब ऊ विस्तारै बुझ्दछ कि आज हामीले जस्तो रोप्यौं, भोलि फल पनि त्यस्तै पाउँछौं, तब ऊ सही र गलतको फरक छुट्याएर सही मार्गलाई आत्मसात् गर्न चाहन्छ । उसलाई लाग्न थाल्छ कि झूटको व्यञ्जनभन्दा इमानको गुन्द्रुक नै स्वादिलो हुन्छ ।
पूर्वीय जीवनशैलीमा तीन महत्वपूर्ण आधार छ– संकल्पको स्वतन्त्रता, आत्माको अमरता र ईश्वर । संकल्पको स्वतन्त्रताको साथ आत्माको अमरतामा विश्वास भएन भने व्यक्तिको संकल्प शिथिल हुन्छ । अनैतिक रूपमा जीवन जिउने व्यक्ति आज आफूलाई सुखी मान्न सक्छ तर भोलि दुःखले उसको ढोका ढक्ढक्याउँछ । अमेरिकी लेखिका सू ग्रैफटनल भनेकी छिन्– ‘हामीले आफ्नो स्वभावको अध्यारों पक्षलाई हेर्नुपर्ने जरुरत छ । यो नै त्यो ठाउँ हो जहाँ उर्जा र उन्माद हुन्छ । तर मानिसहरू यसो गर्न डराउँछन् किनकि यसभित्र त्यस्ता तत्वहरू लुकेर बसेका हुन्छन् जसलाई स्वीकान गर्न हामी डराउँछौं ।’
ईश्वरीय सत्तामा विश्वास गर्ने र प्रत्येक आत्मामा ईश्वर बन्न सक्ने क्षमता हुन्छ भन्ने कुरालाई स्वीकार गर्नेवाला व्यक्ति सतर्क रहने प्रयत्न गर्दछ कि ऊद्वारा कुनै पनि त्यस्तो काम नहुन् जसले गर्दा उसको भविष्य अन्धकारमय होस् । यस चिन्तनको बाबजुद पनि उसको जीवनमा यस्ता नाजुक क्षण आउँदछन् जसले गर्दा उसको मन दुर्बल हुन्छ र ऊ कुनै नराम्रो काम गर्न बाध्य हुन्छ । तर गलत कार्य गर्नुपर्दाको वेदनाले उसलाई जलाइरहन्छ र एक न एक दिन ऊ सही मार्गमा आउन बाध्य हुन्छ ।
वास्तवमा जीवनमा धेरै कुरा राम्रो हुन बाँकी नै छन् । कैयौं राम्रा पलहरूले हाम्रो प्रतीक्षा गरिरहेका छन् । हाम्रा कैयौं आशा र आकांक्षाहरू पूरा हुन बाँकी नै छन् । सम्भवतः कैयौं अचम्म लाग्दा कुराहरूसँग हाम्रो जम्काभेट हुन बाँकी नै छ । कैयौं सुखका क्षणहरू हाम्रो लागि स्वागतको हात फैलाएर उभिएका हुन सक्छन् । तर समस्या के छ भने हामीले आफैंलाई नचिनी गुमनाम र निराशाको जीवन बाँचिरहेका हुन्छौं । दुनियाँ हामीतिर हेरेर उभिएको हुन सक्छ तर हामी अन्य दिशातर्फ फर्किएर उदास भइरहेका हुन्छौं । आफ्नो आत्मविश्वासलाई बलियो र संकल्पलाई सुदृढ बनाउन सके सम्भावनाका नयाँ ढोका खोल्न हरेक व्यक्ति सक्षम हुन्छ ।