दसैं तिहार सकिएर छठ सुरु भएपछि भुकम्पको धक्का महसुस गरिएको छ । बाग्लुङमा भूकम्पको धक्का महसुस गरिएको हो । आज बिहान सबेरै ३ बजेर ५१ मिनेटमा ४.५ म्याग्निच्यूडको भूकम्प गएको हो । बाग्लुङको बंगादोभान आसपास केन्द्रविन्दु भएर सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
भूकम्पविद् भरत कोइरालाका अनुसार,‘यो नयाँ भूकम्प हो । पराकम्पन होइन । बेला–बेलामा स–साना भूकम्प जानु स्वाभाविक प्रक्रिया हो ।’ यसअघि, यही कात्तिक ११ गते मुगु केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यसअघि, कात्तिक ५ गते उदयपुर केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडकै भूकम्प गएको थियो । केन्द्रकाअनुसार यी पनि नयाँ भूकम्प नै हुन् ।
विनाशकारी ‘गोरखा भूकम्प’का पराकम्पन होइनन् । समय समयमा स–साना भूकम्प जानुलाई भूकम्पविद् सन्चित शक्ति क्षयीकरण मान्छन् । आज बिहानको भूकम्पको धक्का छिमेकी जिल्लाहरु गुल्मी, प्यूठान, रोल्पा र रुकुममासमेत महसुस गरिएको जनाइएको छ । सो भूकम्पले अहिलेसम्म कुनै क्षति पुर्याएको भन्ने विवरण आएको छैन ।