जबरजस्ती करणी उद्योगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको मुद्दाको थुनछेक बहस सकिएको छ ।
जिल्ला अदालत काठमाण्डौमा महराका तर्फबाट सोमबार वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, शेरबहादुर केसी, सविता भण्डारी बराल र कृष्णप्रसाद सापकोटाले बहस गरेका थिए । आइतबार महराको पक्षबाट अधिवक्ता भोजराज आचार्य र लभप्रसाद मैनालीले बहस गरेका थिए । आइतबार बहस नसकिएपछि सोमबारलाई हेर्दाहेर्दैमा राखिएको थियो ।
महराको पक्षबाट बहस सकिएपछि सरकारी वकिलले कानुनी प्रतिवाद गरेका थिए । न्यायाधीश सुर्दशनराज पाण्डेको बन्द इजलासमा बहस भएको हो । अदालतमा बहस भैरहँदा पीडित भनिएकी रोशनी शाहीले बन्द इजलासमा बोल्ने अनुमति मागे पनि न्यायाधीश पाण्डेले अनुमति दिएनन् । महराले बलात्कार प्रयास गरेको भनेर प्रहरीमा जाहेरी दिए पनि उनले अदालतमा भने बयान फेरेकी छिन् । महरा आफ्नो कोठामा नआएको उनले अदालतमा बयान दिएकी थिइन्।
बहस सकिएसँगै अहिले फैसला तयार गर्ने काम भइरहेको छ । अब महरालाई धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि कारागार नै चलान गर्ने भन्नेबारेमा अदालतले फैसला गर्नेछ ।
महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि गएको असोज १९ गते प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका महरालाई सरकारी वकिलको कार्यालय, काठमाडौंले गएको बिहीबार बलात्कार प्रयास गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।