बझाङको बुङ्गल नगारपालिका–१ मा निर्माणाधीन अवस्थामा रहेको ६५ मेगावाटको कालङ्गा हाइड्रपावरको सुरूङमा चार मजदूरको मृत्यु भएको छ । आइबार दिउसो करीब ३ः०० बजेतिर बुङ्गल नगरपालिकाको सानिगाढको दारिमगाढ भन्ने स्थानमा सुरूङभित्र काम गर्न जाने क्रममा उनीहरु बेपत्ता भएका थिए ।
बेपत्ता भएका मजदूर आज सुरूङमार्गमै मृतावस्थामा भेटिएका छन् । मृत्यु हुनेमा दैलेखका कर्णबहादुर शाही र महेन्द्र शाही, अछामका महेन्द्र साउद र बझाङका शेरबहादुर धामी रहेका इलाका प्रहरी कार्यालय बुङ्गल झापाका प्रहरी सहायक निरीक्षक अम्मर भण्डारीले जानकारी दिए । सुरुङभित्र काम गर्ने क्रममा एक्कासि गाडी बन्द भएपछि काम गरिहरेका उनीहरु बाहिर आउन नसकेका हुनसक्ने आशङ्का गरिएको छ ।
आइतबार उनीहरुको खोजी कार्यका लागि प्राविधिक टोली प्रयासमा भए पनी सुरूङभित्र अक्सिजनको मात्रा एकदमै कम रेहको भन्दै उक्त टोली काम नगरी फर्किएको थियो । आज हेलिकप्टरमार्फत यन्त्रसहित सशस्त्र प्रहरीको उद्धारटोली आएर खोजीगर्ने क्रममा मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सत्तरी प्रतिशतभन्दा बढी काम भइसकेकाले बाँकी काम गर्ने क्रममा उनीहरुको मृत्यु भएको हो । कालङ्गा हाइड्रोअन्तर्गतको दारिमगाढ सुरूङ करीब एक हजार ४०० मिटर लामो रहेकाले अक्सिजनको व्यवस्था कमी भएका कारण सो घटना भएको हाइड्रोका संस्थापक वीरेन्द्रबहादुर मल्लले बताए।