-नेत्रविक्रम बिमली
झापा, २१ कात्तिक ।
झापाको हल्दिवारी गाउँपालिकाले ११,१२ अध्यन गर्ने सबै विद्यार्थीलाई निःशुल्क पढ्ने व्यवस्था गरेको छ । गाउँपालिकामा रहेका तीनवटा उच्चमाविहरू हल्दिवारी मावि, जनजागृती मावि तथा लक्ष्मी माविमा अध्यन गर्ने सबै विद्यार्थीको शुल्क गाउँपालिकाले मिनाहा गरिदिएको गाउँपालिकाका उपाध्यक्ष तथा शिक्षा समितिका अध्यक्ष डम्बरबहादुर गिरिले बताए ।
११ र १२ कक्षामा अध्ययन गर्ने सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क अध्यन गराउने हल्दिवारी गाउँपालिका पहिलो गाउँपालिका रहेको समेत प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताए । उनले भने– ‘सबै माध्यमिक विद्यालयहरूमा कम्प्युटर ल्यावको व्यवस्था, अङ्ग्रेजी, साइन्स तथा गणित शिक्षकको व्यवस्था गरिएको छ भने योगा, फुटबल, कबड्डी जुडो–कराते लगायतका खेलहरूका लागि घुम्ती खेल शिक्षकको समेत व्यवस्था गरिएको छ ।’
घिमिरेले अगाडि भने– विद्यालयका शिक्षकहरूलाई बढी जवाफदेही बनाउन इ–हाजिर शुरु गरिएको छ भने यसै वर्षदेखि सबै विद्यालयहरूमा सीसी क्यामरा जडान गरी गाउँपालिकाबाटै निगरानी र मनिटरिङ गर्ने व्यवस्थाका लागि काम अन्तिम चरणमा पुगेको छ ।
हल्दिवारी गाउँपालिकामा १७ वटा सामुदायिक विद्यालयहरू रहेका छ्न् ।