लण्डनमा भ्रमण वर्षको कार्यक्रम भव्य रूपमा सम्पन्न

नेपाल भ्रमण वर्ष २०२० को प्रबर्द्धन गर्ने उद्देश्यले नेपाली दुतावास लण्डन र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा हालै लण्डनमा एक विशेष कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा सहभागी हुन पुगेका पर्यटन मन्त्री योगेश भट्टराईले कार्यक्रम भव्य रूपमा सफल भएको कुरा आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् ।

उनले लेखेका छन् ‘नेपाली दुतावास लण्डन र नेपाल पर्यटन बोर्डको आयोजनामा नेपाल भ्रमण वर्ष २०२० को प्रबद्र्धनका लागि नोभेम्बर ५ तारिखका दिन भव्य कार्यक्रम भएको छ । करिब १०० जना विदेशी र ५० जना नेपालीको सहभागिता रहेको उक्त कार्यक्रममा मेरो र नेपाली राजदुत डा. दुर्गा सुबेदीको मन्तव्यका अलवा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको भ्रमण वर्षका बारेमा आकर्षक प्रस्तुति रहेको थियो । त्यस अवसरमा १४ पटक सगरमाथा आरोहण गर्ने ब्रिटिस नागरिक केन्टोन कूल, पहिलो ब्रिटिस महिला सगरमाथा आरोही रेबेका, सांसद म्याथु, पिएटिएका सिइओ लगायतले आफ्ना अनुभव राख्नुका साथै नेपाल भ्रमण वर्ष २०२० लाई आफ्ना तर्फबाट पुरै सहयोग गर्ने प्रतिबद्धता दिनुभयो । कार्यक्रममा कलाकारहरूको आकर्षक प्रस्तुति पनि रहेको थियो ।’



लण्डनबाट फर्किने क्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले फेसबुक स्टाटसमा लण्डनको कार्यक्रम सफल र फलदायी भएको उल्लेख गर्दै लण्डनमा पाएको भावपूर्ण आतिथ्यका लागि सम्बन्धित सबैलाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन् । उनले अगाडि भ्रमण वर्ष २०२० भित्र नेपाल भ्रमण गरी जीवनमा एकपल्ट मिठो अनुभव लिन आग्रहसमेत् गरेका छन् ।

 

सम्बन्धित समाचार