– महेश कठायत
काठमाडौं, २४ कात्तिक ।
नेपाल एक भूपरिवेष्ठित राष्ट्र हो । भूपरिवेष्ठित राष्ट्रका आफ्नै खाले समस्याहरू हुन्छन् । ती समस्याहरू त्यो राष्ट्रका नागरिकहरूले भोगिरहनु पर्छ । त्यस्तै अनेकौं समस्याहरू वर्षौदेखि नेपालीहरूले भोग्दै र झेल्दै आइरहेका छन् । राष्ट्रवाद, राष्ट्रियता जनतालाई प्राणजस्तै प्यारो लाग्दो रहेछ । मानव जीवन नै अमूल्य छ । यो अमूल्य जीन्दगीको पहिलो पाइला टेकेको धर्ती आफ्नी आमा जस्तै माया लाग्दो रहेछ । यसर्थ छातीमा हात राखेर भन्न सकिन्छ देश आमा हो । आमा देश हो ।
एकछिन आँखा चिम्लेर सोचौं, के आफ्नी आमाको छातीमा कसैले चिथोरेको, कोपरेको टुलुटुलु हेर्न सकिन्छ ? कदापि सकिंदैन । यो कल्पनाभन्दा धेरै टाढाको कुरा हो । तर आमा अर्थात् देश आजको यही अवस्था छ । यतिबेला हाम्रो छिमेकी राष्ट्र भारतले आफ्नो नयाँ नक्सा सार्वजनिक गरेको छ । एक त छिमेकीले गर्ने हरेक क्रियाकलापमा एक छिमेकीको नाताले चासो राखिरहनु स्वाभाविक हुन आउछ । तर, यसपटक छिमेकीको निर्णय चासो मात्र होइन, हाम्रो चिन्ता र सरोकारको विषय पनि बनेको छ । नेपाली भूमिलाई भारतले आफ्नो भूमि भनेर दावी गरेको छ । यसले नेपालीहरूलाई छिमेकीका बारेमा फेरि एकपटक सोच्न बाध्य पारेको छ ।
विश्वका शक्तिशाली राष्ट्रहरूको सूचीमा आफ्नो छुट्टै पहिचान बनाउन हाम्रा दुई छिमेकीहरू लागिपरेका छन् । छिमेकी जति बलियो भयो फाइदा छिमेकीलाई नै हुन्छ । यो कुरा हामी मान्न तयार छौं । तर, एउटा छिमेकीले आफूलाई शक्तिशाली बनाउने नाममा अर्को छिमेकीमाथि बलमिच्याई गरिनुलाई भने कदापि स्वीकार गर्न सकिदैन । भारतले नेपालको सार्वभौमिकता र अखण्डतामाथि हस्तक्षेप गर्दा उसले एक असल छिमेकीको विश्वास मात्र गुमाएको छैन, अन्तर्राष्ट्रिय जगत्मा आफ्नो छवि समेत धमिल्याएको छ । यसरी आफूलाई समृद्धशाली राष्ट्र बनाउने महानअभियानमा अग्रसर भएको राष्ट्रले गरेको यो व्यवहार अस्वाभाविक भयो कि भनेर एक पटक भारतले सोच्नै पर्छ ।
केही समय अघि भारतीय संविधानको धारा ३७० खारेज गरेर भारत सरकारले जम्मू कश्मीर र लद्दाखलाई केन्द्र शासित प्रदेश बनाए पछि आफ्नो नयाँ नक्सा सार्वजनिक गर्ने क्रममा नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र समेत समेटेको छ । हुन त नेपाल भारत सीमा विवाद कुनै नयाँ भने होइन । नेपालसँग सीमाना जोडिएका अधिकांश जिल्लामा विवाद यथावत छ । कतै सीमा स्तम्भहरू हराएका छन् त कतै भारतीय सेना नेपाली भूमिमै आएर ठाडो हस्तक्षेप गरेका छन् । हातमा लालपुर्जा भएर पनि आफ्नै जमिन उपभोग गर्न नपाउनेहरू प्रशस्तै छन् । कुनै पनि देशका नागरिक र विशेष गरी सरकारका लागि आफ्नो देशको माटोको रक्षा गर्नुभन्दा महत्वपूर्ण र संवेदनशील विषय अरू के नै हुन सक्छ र ! तर बिडम्वना यो विषय आम नागरिकका लागि संवेदनशील र ठूलो मुद्दा बने पनि सरकारका लागि भने सामान्य नै छ । वीर पुर्खाको इतिहास बिर्सेर भनौ या कसैको डरले भनौ, आफ्नै भूमिलाई पनि खुलेर शिर ठाडो पारेर आफ्नो भन्न सकेको छैन् । प्रतिपक्षमा हुँदा राष्ट्रवादको चर्को आवाज उठाएर चम्केकाहरू त्यही राष्ट्रवादको भर्याङचढी सत्तामा पुगेपछि किन एकाएक मन्द हुन्छन् ? यसको एकमात्र जवाफ हुन सक्छ ‘एनि हाउ, सत्ता टिकाऊ ।’
यतिबेला नेपालीहरूका लागि आफ्नो भूमि मिचिएको मात्र होइन, आफ्नै सरकारले खुट्टा कमाइरहेको विषय कम पीडादायी छैन । देशमा नयाँ सरकार बन्ने बित्तिकै सरकारकै उच्च तहबाट बेइजिङ र दिल्ली धाउने प्रवृत्तिलाई हेर्दा लाग्छ सत्तामा पुग्न राष्ट्रवाद र सत्ता टिकाउन लम्पसारवाद चाहिँदो रहेछ ! तर, रोटीबेटीको सम्बन्ध हो भन्दैमा सम्बन्धसँग राष्ट्रियता साट्न कहाँ सकिन्छ र ? नेपालीहरूको भावनासँग अब कुनै पनि शासकले खेल्न पाउने छैनन्, किनकि कसैलाई सत्तामा टिकाइरहनका लागि आफ्नो भूमिको अस्तित्व मेटाउन सकिंदैन, भलै नेतृत्वमा जो कोही आओस् । हामीलाई हाम्रो स्वाभिमान चाहिन्छ, हामीलाई हाम्रो देश चाहिन्छ र आमा चाहिन्छ ।