मन्त्री र मुख्यमन्त्री फेर्ने प्रधानमन्त्रीको तयारी, उपचुनाव लक्षित फन्डा

मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नेकपामा सघन छलफल शुरू भएको छ । सोमवार बस्ने सचिवालय बैठकले सबै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिने तयारी प्रधानमन्त्री केपी ओलीको रहेको बुझिएको छ । अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भएको गम्भीर छलफलपछि सबै मन्त्रीको राजीनामा माग्ने निष्कर्षमा पुगेको स्रोतले बतायो ।

स्रोतका अनुसार सबै मन्त्रीको राजीनामा मागे पनि कम्तीमा आठ मन्त्रीको मात्र स्वीकृत गरिने र बाँकीलाई यथावत राखिने छ । उपसभामुखबाट शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराएर मन्त्री बनाउने बिषयमा पनि दुवै अध्यक्षहरू सहमत देखिएका छन् । त्यसैगरी तत्कालीन नेकपा एमालेको नीति निर्माण तहको दस्तावेज लेखनमा ओलीका विश्वास पात्र प्रदीप ज्ञवाली प्रमुख सल्लाहकार बन्ने दाबी स्रोतले गरेको छ। हाल उनी परराष्ट्रमन्त्रीको भूमिकामा छन्।



शुक्रबार प्रधानमन्त्री ओलीले आफ्ना सल्लाहकार र सचिवालयका सबै कर्मचारीलाई पदबाट राजीनामा दिन निर्देशन दिइसकेका छन् । प्रधानमन्त्री ओलीले आफ्ना सल्लाहकारहरूलाई जस्तै मन्त्रीलाई पनि राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिने निर्णय सचिवालय बैठकबाट गराउन लागेको स्रोतको दाबी छ ।

मन्त्रीको राजीनामापछि प्रधानमन्त्री ओलीले सरकार पुनर्गठन गर्नेछन् । मन्त्रिमण्डल पुनर्गठनका क्रममा आठ मन्त्रीमा भने नयाँ अनुहार ल्याउने गरी अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति गरेको जनाइएको छ ।

मन्त्रिमण्डल पुनर्गठनलगत्तै प्रधानमन्त्री ओलीले प्रदेशका मुख्यमन्त्री र मन्त्री पनि फेरबदल गर्न सक्ने सङ्केत पनि स्रोत दिएको छ । कतिपयले प्रधानमन्त्रीको यो कदमलाई उपचुनाव लक्षित फन्डाको रूपमा पनि हेरेका छन् । दुई वर्षसम्म प्रभावकारी काम गर्न नसकेकोले उपचुनावमा जनताबाट बडारिने डरले मन्त्री र मुख्यमन्त्री फेरेर प्रधानमन्त्रीले आमुल परिवर्तनको तयारी गरेको भन्ने भ्रम छर्न खोजेको एक प्रतिपक्षी दलका नेताले नाम नबताउने शर्तमा बताए ।

सम्बन्धित समाचार