नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतसँगको सीमा विवाद अहिले नै अन्तर्राष्ट्रियकरण गर्ने समय आइनसकेको बताएका छन् ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिकी सभापति शशी श्रेष्ठले सीमा विवादलाई अन्तर्राष्ट्रियस्तरमा लगेर भए पनि समाधान गर्नु पर्ने कुरा उठेको बताएकी थिइन् । त्यसको जवाफमा प्रचण्डले भने, ‘अहिले नै अन्तर्राष्ट्रियकरण गर्ने बेला भएको छैन । आपसी छलफलबाटै समस्या समाधान गर्नु पर्छ । अन्तर्राष्ट्रियस्तरमा लैजाँदा समाधान हुनुको साटो झन समस्या थपिन्छ ।’
प्रचण्डले सीमा समस्याको समाधान कूटनीतिक रुपमा खोजिनु पर्ने बताउँदै भने, ‘उत्तेजना फैलाएर समाधान हुँदैन । छलफलबाटै समाधान खोज्ने हो र यसमा सरकारको स्पष्ट धारणा पनि आएको छ ।’ लिम्पियाधुरा–लिपुलेक–कालापानी नेपालकै रहेको बताउँदै उनले भने, ‘तथ्यले नै भनेको छ कि ती क्षेत्र नेपालकै हो । लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै हो भन्नेमा दुविधा छैन । सरकारको धारणा पनि स्पष्ट आइसकेको छ ।’
भारतले पछिल्लो पटक सार्वजनिक गरेको राजनीतिक नक्साले वर्षैदेखि रहँदै आएको सीमा विवाद सुल्झाउनका लागि नकारात्मक रुपमा सहयोग गरेको बताएका छन् ।
प्रचण्डले भारतसँग गम्भीर वार्ता गर्ने उपयुक्त समय आएको बताए। ‘विगतमा स्थिर प्रकृतिको सरकार नहुँदा यस्ता समस्या देखिएको हो’, उनले भने, ‘नेपालको एक इन्च पनि जमिन छोड्दैनौ र अर्काको भूमि पनि लिँदैनौ ।’