भारतसँग सीमा जोडिएको स्थानमा सुरक्षापोस्ट विस्तार गर्ने विषयमा कांग्रेस सांसदको असन्तुष्टि

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद अमरेशकुमार सिंहले भारतले सीमा मिचेकोमा मात्र बोल्ने गरेकोमा असन्तुष्टि जनाएका छन् । चीनले सीमा मिचेको बारेमा कसैले बोल्नु पर्दैन भन्ने प्रश्न गर्दै उनले दार्चुलाको भारतसँग सीमा जोडिएको स्थानमा सुरक्षापोस्ट विस्तार गर्ने सरकारको तयारीप्रति पनि असन्तुष्टि जनाए ।

सोमबार संसदको राज्यव्यवस्था समितिमा बोल्दै सिंहले प्रश्न गरे, ‘भारतले सीमा मिचेकोमा बोल्ने तर चीनले सीमा मिचेको बारेमा कसैले बोल्नु पर्दैन ?’ कात्तिक १६ गते भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समावेश गरेर नयाँ राजनीतिक नक्सा प्रकाशित गरेको विषयमा राज्य व्यवस्था समितिले छलफल आयोजना गरेको थियो।



छलफलमा उनले भारत र चीन दुवै देशले मिचेको सीमाका बारेमा समान धारणा आउनुपर्ने पनि बताए । ‘उत्तरतिर चीनले १०-११ ठाउँमा सीमा मिचेको समाचार आइरहेका छन्, यसबारेमा किन कसैले केही बोल्दैन ? सरकार किन मौन बस्छ ?’ सांसद सिंहले प्रश्न गरे, ‘कोरला नाकाको नेपालीहरुसँग किन चाबी छैन ? चीनले मात्रै चाबी राख्नुको कारण के हो ? सीमाका दुवै देशसँग चाबी हुनुपर्ने होइन र ?’

सांसद सिंहले मिडियाबाजीको प्रभावमा भावुक भएर कुनै पनि निर्णय गर्न नहुने सुझाव पनि दिए ।

त्यसअघि बोलेका गृहमन्त्री रामबहादुर थापाले दार्चुलाको भारतसँग सीमा जोडिएको स्थानमा सुरक्षापोस्ट विस्तार गर्ने बताएपछि त्यसप्रति पनि उनले असन्तुष्टि जनाए । उनले भने, ‘नेपाली सेनाको काम भूगोल र जनताको रक्षा गर्ने जिम्मा भएपनि सेना ठेक्का पट्टामा हात हालेर बसेको छ, बोर्डरमा सरकारको लापारबाही भयो।’

भारतले सीमा अतिक्रमण गरेको विषयमा बिरोध मात्र गरेर समस्या समाधान नहुने भन्दै कुटनीतिक रुपमा समस्या समाधान गर्नुपर्ने उनले बताए।

सम्बन्धित समाचार