उपनिर्वाचन २०७६: उम्मेदवारलाई चुनाव चिह्न प्रदान, कस्लाई कुन चिह्न ?

निर्वाचन अधिकृतको कार्यालय भक्तपुरले आगामी मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १, प्रदेश नं १ ९क०मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिएका दल तथा स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको छ । कार्यालयले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का देवीप्रसाद (डिपी) ढकाललाई सूर्य, नेपाली काङ्ग्रेसका कृष्णलाल भँडेललाई रुख र नेमकिपाका नीरज लवजूलाई मादल चिह्न प्रदान गरेको कार्यालय भक्तपुरका सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिए।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामप्रसाद नेपाललाई गाई, साझा पार्टीका सुरज प्रधानलाई तराजू, समाजवादी पार्टीका सुदर्शनकुमार मुनकर्मीलाई पाँचऔंलासहितको हत्केला, नेकपा (माले)का सुदर्शन लामिछानेलाई हँसिया हथौडा, नेपाली काङ्ग्रेस (बिपी) का मधुसूदन न्यौपानेलाई करुवा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मिङ्मार लामालाई दापसहितको खुकुरी चुनाव चिह्न प्रदान गरिएको छ ।



त्यसैगरी स्वतन्त्रतर्फ कृष्णप्रसाद ह्यामोलाई सिएफएल चिम, कृष्णराम पोतामाहालाई हातेपङ्खा, जीवन नेपालीलाई ब्याडमिन्टन कर्क, अर्जुन कोजूलाई भर्याङ, राकेश सुवाललाई ड्रम, उत्तम शाखकर्मीलाई बालक, सुमना कार्कीलाई जीप, जीवनचन्द्र अधिकारीलाई चक्ला बेल्ना, सुजाता देउजालाई स्कुटर र सङ्गीता पौडेललाई घुम्ने कुर्सी चुनाव चिह्न प्रदान गरिएको बिसीले जानकारी दिए ।

सम्बन्धित समाचार