सीमाबासीको समस्या बुझ्ने कोही भएन, लालपुर्जा छ हातमा, जग्गा खाइदियो भारतले

खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका कञ्चनपुर पुनर्वासका किरण सुनारको साथमा आफ्नै जग्गाको लालपुर्जा छ । तर, उनीसँग जग्गा भने छैन ।

उनको हातमा भएको लालपुर्जाको जग्गा भारतीय पक्षले कब्जा गरेका छन् । दुई दशकभन्दा बढी समयदेखि सुनारको जग्गामा भारतीय पक्षले खेती लगाइरहेका हुन् । उनको १५ कट्ठा खेतीयोग्य जमिन २४ वर्षदेखि भारतीय पक्षले कब्जा गरेको हो । २०२८ सालदेखि उनीहरूले त्यो जग्गाको भोगचलन गर्दै आएका थिए ।



तर, २०५२ सालपछि उक्त क्षेत्र भारतमा पर्ने भन्दै भारतीय पक्षले जग्गा कब्जा गरे । आफूहरूले भोग चलन गर्दै आएको जग्गा भारतीय पक्षले कब्जा गरेपछि उनीहरू समस्यामा परेका हुन् । झन्डै ५ दशक पहिलेदेखि बस्दै आएको उक्त ठाउँमा नेपाल सरकारले जग्गा नापेर उनीहरूलाई लालपुर्जा दिएको थियो । उनको हातमा अहिले पनि लालपुर्जा त छ । तर, जग्गा छैन ।

लालपुर्जा भएको आफ्नो भूमिलाई भारतीयले कब्जा गर्दा पनि सरोकारवाला निकायले चासो नदिएको उनको गुनासो छ । ‘सरोकार निकायलाई पटक(पटक मौखिक र लिखित रूपमा जानकारी गराएको थिएँ’ उनले गुनासो पोख्दै भने, ’कसैले कुनै पहल नभएपछि अब त जग्गा पाउने आस पनि मर्न थालेको छ ।’ उपल्लो निकायसम्म आफूहरूको समस्या र्पुयाइदिने कोही नभएकाले यस्तो भएको उनको गुनासो छ । आफ्नो जग्गा भारतीय पक्षले कब्जा गरेपछि उनीहरूको विचल्ली भएको छ ।

आफ्नो जग्गा भारत पक्षले कब्जा गरेर भोग चलन गर्न थालेपछि उनीहरूले अर्काको जमिन अधियाँ गरी परिवार पाल्न बाध्य भएका छन् । ’अहिले अरूकै जग्गामा अधियाँ खेती गर्दै आइरहेको छौं । त्यो खेतबाट उब्जनी भएको अन्न आधा जग्गा मालिकलाई दिन्छौँ र आधा मात्र हामी राख्छौँ’ उनले भने, ‘अहिले उत्पादन कम हुँदै गएको छ झन् समस्या बढिहरेको छ ।’

सरोकारवाला निकायले आफ्नो लालपुर्जा भएको जमिन फिर्ता गराइ दिनुपर्ने उनको माग छ । सधैँ बल्झन्छ विवाद झण्डै तीन वर्ष पुग्न थाल्यो, फागुन २६ गते कञ्चनपुरको पुनर्वास ४ आनन्द बजारमा भारतीय पक्षको गोली लागि स्थानीय गोविन्द गौतमको ज्यान गएको थियो।

नेपाली भूमिमा रहेको कल्भर्टको मर्मत गर्दा भारतीय पक्षले अवरोध सिर्जना गरेका थिए । त्यो बेला विवाद यतिसम्म चुलियो कि भारतीय पक्षले गोली प्रहार गर्यो र गौतमको मृत्यु भयो ।

उनको हत्याको तीन वर्ष पुग्नै लाग्दा पनि सो क्षेत्रमा सीमा अझै शान्त बन्न सकेको छैन । यो अवधिमा दर्जनौं पटक भारतीय पक्षबाट नेपाली प्रताडित भएका छन्। ‘फरकफरक बहानामा नेपाल र नेपालीमाथि प्रहार भइरहेको छ’ सीमा क्षेत्रका स्थानीय प्रेम थापाले भने, ’हामी त निरीह जस्तै भएका छौं ।’

सम्बन्धित समाचार