विकास र समृद्वि स्थानीय स्तरबाटै अगाडि बढ्छ: मन्त्री लम्साल

गण्डकी प्रदेशका उद्योग वन पर्यटन तथा वातावरण मन्त्री विकास लम्सालले विकास र समृद्विलाई स्थानीय स्तरबाट अगाडि बढाइने बताएका छन् । अर्गल खेलकुद विकास मञ्च ताराखोला गाउँपालिका वडा नं २ अर्गलको १३ औं वार्षिकोत्सव तथा ऐतिहासिक भुस पोल्ने मेलालाई सम्बोधन गर्दै मन्त्री लम्सालले यस्तो बताएका हुन् । उनले स्थानीय स्तरमा सम्भावनाको खोजी गरी उत्पादनलाई अब आर्थिक समृद्विमा जोड्ने गण्डकी प्रदेशले गृहकार्य गरिरहेको बताए ।

ताराखोला आफैमा पर्यटकीय, कृषि, कला र संस्कृतिको धनी क्षेत्र रहेकोले यसको संरक्षण सम्बर्दन गर्दै युवाहरुलाई कृषि र पर्यटनमा आकर्षित गरी यहाँको विकासमा गण्डकी प्रदेश सरकार सधैं हातेमालो गर्न तयार रहेको मन्त्री लम्सालको भनाइ रहेको छ । सो अवसरमा गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटा, बन्दिपुर गाउँपालिका तनहुँका अध्यक्ष पूर्णसिंह थापा, धुर्कोट गाउँपालिका गुल्मीका अध्यक्ष भोपाल पोखरेल र अर्गल खेलकुद विकास मञ्चका संस्थापक अध्यक्ष सूर्यबहादुर घर्तीले शुभकामना मन्तव्य राखेका थिए ।



‘खेलकुद, कला, संस्कृति परम्परा हाम्रो शान, भुस पोल्ने पर्व ताराखोलाको पहिचान’ भन्ने मूल नाराका साथ कात्तिक २३ गतेदेखि शुभारम्भ भएको मेलामा पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, महिला रस्साकसी प्रतियोगिता, धनुष वाण प्रतियोगिता सञ्चालन भइरहेको अर्गल खेलकुद विकास मञ्चका सल्लाहकार तथा ताराखोला गाउँपालिका वडा नं २ का वडा अध्यक्ष भद्रबहादुर घर्तीले जानकारी दिए ।

जसअन्तर्गत कात्तिक २४ गते बिहान सूर्योदयसँगै भुस पोल्ने, २५ गते सूर्योअस्तसँगै गाउँलेसँग भुस पोल्ने र २६ गते सूर्योअस्त सँगै अविवाहित युवा युवतीहरू र अर्गल संस्कृति संरक्षण सम्बर्दन समितिका कलाकारबाट सांस्कृतिक नाँच गर्दै बारीमा विधिवत पूजा अर्जना, दमाह बाजासहित छापो खन्ने काम सम्पन्न गरिएको छ । बारीमा युवाहरूले विउ छर्ने मेलो बनाउने र युवतीहरूले खनेर बारी सम्माउँदै खनजोत गर्ने परम्परागत कार्य सम्पन्न भएको छ । मेलामा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरु मेक्सम खाती क्षेत्री, रेशम निर्दोष, निरु श्रीस, तिर्सना घर्तीको बेजोड सांगितिक प्रस्तुति रहेको थियो ।

सम्बन्धित समाचार