पर्यटन वर्षलाई लिएर विदेशमा रहेका कलाकर्मी पनि उत्साहित छन्  :  सारा श्रेष्ठ

सारा श्रेष्ठ विगत केही आठ वर्ष यता युरोपको पोर्चुगल र नर्वेमा रहेर नेपाली संस्कृति, गीत संगीतको प्रवद्र्धन र प्रमोशनका साथै मोडलिङ क्षेत्रमा पनि सक्रिय छिन् । करिब ११ वटा नेपाली गीतमा मोडलिङ गरिसकेकी उनको चाहना मोडलिङ क्षेत्रमै स्थापित हुनु रहेको छ । हाल नेपाल आएकी सारासँग गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ ।

यतिबेला नेपाल आउनु भएको छ । काम विशेष हो वा पारिवारिक भेटघाट हो ?



खास गरी तिहारलाई लक्षित गरेर म नेपाल आएकी हुँ । परिवारसँग बसेर चाडपर्वको मनाउनुको मज्जा नै छुट्टै हुन्छ । मैले लामो समयसम्म यो अवसर गुमाएकी थिएँ । साथै, केही गीतमा मोडलिङको अफर पनि आएको थियो । त्यसबारेमा अहिले भेटेरै कुराकानी भइरहेको छ । शायद छिट्टै टुङ्गोमा पुग्छौं होला ।

नेपालमा पर्यटन वर्ष शुरू हुँदै छ । यो बेला देश विदेशमा रहनु भएका कलाकर्मीहरूले शुभेच्छा सहित आफ्नो योजना र आफ्ना अनुभवसेयर गरिरहनु भएको छ । तपाई चाहिं यो पर्यटन वर्षलाई लिएर कत्तिको उत्साहित हुनुहुन्छ ?

पक्कै पनि म उत्साहित छु । यस्ता उत्सवहरूले देश बाहिर रहेका नेपालीहरूलाई पनि आफ्नो देशको बारेमा विदेशीहरूलाई चिनाउने अवसर प्राप्त हुन्छ । नर्वे र पोर्चुगलमा रहेका नेपाली समुदायले पनि नेपालको कला र संस्कृतिलाई अन्तर्र्रािष्ट्रकरण गर्न सहयोग गरिरहेका छन् । यसअघि पनि हामीहरूले नेपाल फेस्टिबलको नाममा यस्ता कार्यक्रमहरू गर्दै आइरहेका थियौं । अब पनि पर्यटन वर्षलाई लक्षित गरेर नेपालमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने कार्यक्रमहरू गर्ने छौं । मेरो अनुभवमा पोर्चुगलले आफ्नो कला र संस्कृतिलाई जगेर्ना गरेर नै पर्यटकीय स्थलको रूपमा परिचित छ । नेपालले पनि प्राकृतिक सम्पदा र पुराना मठ मन्दिरहरूलाई भूकम्पपछि पनि पुरानै डिजाइनमा बनाएर यसको अस्तित्वलाई जोगाउन सक्नुपर्दछ । यसो भएमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने थियो ।

युरोपमा नेपाली सांगीतिक कार्यक्रमहरू कत्तिको हुन्छ ?

पछिल्लो समय युरोपका नेपाली समुदायमा पनि नेपालबाट विभिन्न कलाकर्मीहरूलाई लगेर सांस्कृतिक कार्यक्रम गर्ने प्रचलन बढेको छ । यसले हामी युरोपमा रहेका कलाकर्मीहरूलाई पनि क्षमता प्रदर्शन गर्ने अवसर मिल्दो रहेछ । नेपाली चलचित्रको लागि पनि पछिल्लो समय युरोप आकर्षक गन्तव्य बन्दै आइरहेको छ । अधिकांश चलचित्रहरू युरोपमै सुटिङ हुने पनि गरेका छन् । सांगीतिक कार्यक्रमहरू त बाक्लै हुन्छन् । यस्ता कार्यक्रमहरूले अन्ततोगत्वा नेपालकै कला संस्कृतिलाई प्रवद्र्धन गरिरहेका हुन्छन् ।

अहिले तपाई नेपाल आएको बेला कुनै गीत गर्ने निश्चित भएको छ ?

यसभन्दा अगाडि सूर्य दयालुको तीनवटा गीतमा मोडलिङ गरेकी थिएँ । यसपटक पनि उहाँको एउटा गीत गर्ने निश्चित भएको छ । अन्य गायकसँग पनि कुराकानी त भएको छ तर निश्चित भएको छैन ।

हालै नर्वेमा तपाईहरूले सुटिङका क्रममा केही कानुनी झन्झटहरू भोग्नु परेको सुन्नमा आएको थियो । त्यो के थियो र खासमा त्यहाँ सुटिङ गर्दा के कस्ता सर्तकता अपनाउनु पर्दो रहेछ ?

अवश्य पनि र्पोचुगल, बेल्जियम, स्वीडेनभन्दा नर्वेमा बढी नै अप्ठ्यारो छ । त्यहाँ पासर्पोट भिसा भए पनि सुटिङका लागि त्यहाँको अनुमति लिनुपर्ने हुन्छ । हालै हामीले नर्बेमा एउटा म्युजिक भिडियो छायांकन गर्दा नेपाली भएकै कारण आर्थिक पक्षलाई केलाउदै कलाकारको पारिश्रमिक, म्युजिक भिडियो निर्माताको आयव्यय, यूरोपमा पहिलाको सुटिङको इतिहास केलाउदै केही दिन म्युजिक भिडियोका निर्देशक गंगा बहादुर नेम्कुललाई नियन्त्रणमा लिएको थियो । नेम्कुलको यूरोप स्थायी बसोबास अनुमती प्राप्त (TR Card) भएको र यूरोपमा उनले अरु थुप्रै नेपाली म्युजिक भिडियो,नेपाली सांकृतिक कार्यक्रम र हाल यूरोप र नेपाल छायांकन हुन लागेको नेपाली ठुलो पर्दाको चलचित्रको तयारी रहेको प्रमाणित भएपछि नर्बे सरकारले उक्त म्युजिक भिडियो सुटिङमा पुर्ण साथ दिएको थियो ।

तपाई लगायत तपाईको टिम एउटा नेपाली चलचित्र निर्माणको तयारीमा हुनुहुन्छ । के कस्तो सिनमा बनाउँदै हुनुहुन्छ ?

हामीले बनाउन लागेको चलचित्र राजनीतिक तथा पारिवारिक चलचित्र हो । नेपालको राजनीतिका कारण विरक्तिएर युरोप पुगेको एक युवतीले युरोपमा पनि विभिन्न ठक्कर खाएपछि आफ्नै देश बनाउनुपर्ने रहेछ भनेर नेपाल फर्केको परिदृश्य चलचित्रमा रहनेछ । हाल कलाकार छनौटमा हाम्रो टिम लागिरहेको छ । बाँकी केही तयारी सकिएपछि एक कार्यक्रमको बीच चलचित्रको घोषणा गर्ने छौं ।

मोडलिङ क्षेत्रमा आउन चाहनेहरूको लागि तपाईंको सुझाव के छ ?

सुरूमा त यो मोडलिङ क्षेत्रमा अब आउनेहरूलाई सिकेर बुझेर र यो क्षेत्रमै केही गर्छु भनेर मात्र आउनुहोस् भन्छु । नबुझिकन लहैलहैमा यो क्षेत्रमा आउनेहरूलाई समस्या पर्न सक्छ ।

नेपालमै रहेर पनि कला, संगीत र मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरूमा केही दुव्र्यवहार हुने गर्छन् जसले गर्दा महिलालाई यो क्षेत्रमा काम गर्न समस्याहरू छन् भनिन्छ । तपाई त झन विदेशमा रहेर मोडलिङ क्षेत्रमा काम गरिरहनु भएको छ । संर्घषको दौरानमा तपाईका यस्ता केही नमिठा अनुभवहरू छन् ?

मेरो जीवनमा भने त्यस्तो खास केही भएको छैन । मैले जोसँग काम गरें सबैजना राम्रै नै भेटें जसले गर्दा मसँग त्यस्तो कटु अनुभव छैन । बुझेर यो क्षेत्रमा लाग्यो भने यस्ता समस्याहरू आउँदैनन् भन्ने मेरो बुझाइ छ ।

सम्बन्धित समाचार