केही दिनयता प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका र प्रमुख प्रतिपक्षी नेताहरुसँगको छलफललाई तिब्रता दिएका छन् । गत शनिबार कालापानीबारे सर्वदलीय बैठकमा प्रधानमन्त्री ओली करिब चार घण्टा व्यस्त भए । त्यसपछि आइतबार नेकपा सचिवालय बैठकमा करिब दुई घण्टा बिताए ।
मंगलबार नेता माधवकुमार नेपालसँग पनि चार घण्टा छलफल गरे । बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग करिब दुई घण्टा छलफल गरे । बिहीबार पनि प्रचण्डसँग चार घण्टा र माधव नेपालसँग डेढ घण्टा लामो छलफल प्रधानमन्त्री ओलीले गरेका छन्र ।
बिहीबार साँझ प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले भेटेका थिए । त्यसलगत्तै प्रदीप ज्ञवाली र त्यसपछि सरकारका प्रवक्ता गोकुल बास्कोटा प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओलीको यो छलफल सरकार र पार्टीको काम तथा आफ्नो स्वास्थ्यको विषयमा केन्द्रित छ ।
प्रधानमन्त्री ओलीले सरकारका काममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र पार्टीका काममा अर्का अध्यक्ष पुष्पकमलदाहाललाई थप केही भूमिका दिने तयारीमा छन् ।
एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओली मिर्गौला फेरि प्रत्यारोपण गर्ने मनस्थितिमा छन् । यस विषयमा छलफल चलिरहेको छ । प्रत्यारोपणका लागि विदेश जानुअघि नै प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई चुस्त बनाउन चाहेको ती मन्त्रीले बताए । मन्त्रिपरिषद् हेरफेर गरी मिर्गौला प्रत्यारोपणमा लाग्ने ओलीको तयारी रहेको छ ।