प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन् । बालुवाटार उच्च श्रोतका अनुसार मन्त्रिमण्डल हेरफेरका क्रममा करिव ८ जना मन्त्रिहरुले विदा पाउनेछन् । त्यस स्थानमा नयाँ नेताहरुले मौका पाउनेछन् । कार्यसम्पादनमा कमजोर रहेका मन्त्रीहरुलाई बिदाइ गरेर नयाँ ल्याउने तयारीमा ओली लागेका हुन् ।
यस्तै कतिपय जिम्मेवारीमा रहेका मन्त्रीहरुको मन्त्रालय परिवर्तन गर्ने तयारी समेत प्रधानमन्त्री ओलीको छ । विगत २० महिनामा मन्त्रीहरुले गरेको कामको आधारमा उनीहरुलाई सोही किसिमको जिम्मेवारी दिन लागेको वालुवाटार स्रोतको दावी छ ।
स्रोतका अनुसार सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, भूमी व्यवस्थामन्त्री पद्मा अर्याल, खेलकुदमन्त्री जगत विश्वकर्मा, महिला तथा बालबालिका मन्त्री थममाया थापा, खानेपानीमन्त्री बिना मगर र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई मन्त्रिपरिषद्बाट विदाई गर्ने ओलीको तयारी रहेको छ ।
उपसभामुखबाट शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराएर उनलाई महिला तथा बालबालिका मन्त्री बनाउने बिषयमा पनि दुवै अध्यक्षहरू सहमत देखिएका छन् । त्यसैगरी नेता घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, पार्वत गुरुङ, हरीबाेल गजुरेल, पम्फा भुसाल / रामेश्वर राय यादव नयाँ मन्त्रीको लिष्टमा अटाएका छन् ।