आलमलाई थुनामा पठाउन आदेश, सांसद पद स्वतः निलम्बन

जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मत आफताव आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । एक साता लामो बहस टुंगिएपछि शुक्रबार जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । उनलाई गौर कारागारमा राख्न पनि आदेशमा लेखिएको छ ।

विस्फोटक पदार्थको प्रयोग गरी ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानको कसुर गरेकोसहित तीनवटा मुद्दामा भएको थुनछेक बहसपछि अदालतबाट यस्तो आदेश आएको हो । आलम अब जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत हुँदै सर्वोच्च अदालत जान सक्नेछन् । पुर्पक्षका लागि अदालतले थुनामा पठाएसँगै आलमको सांसद पद स्वतः निलम्बनमा परेको छ ।



एक हप्तादेखि जारी बहस शुक्रबार दिउँसो सकिएसँगै जिल्ला न्यायाधीश दीपक ढकालको इजलासबाट आदेश जारी गर्नुअघि अदालत आसपास र गौर क्षेत्रमा सुरक्षा अत्यन्त कडा पारिएको थियो । आलममाथि २८ चैत २०६४ को पहिलो संविधानसभा चुनाव बिथोल्न जिल्लाकै राजपुरमा बम बनाउने क्रममा विस्फोटमा परेर घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेको अभियोग लागेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय रौतहटले आलमसहित १० जनाविरुद्ध उक्त घटनामा अभियुक्त बनाएर जिल्ला अदालत रौतहटमा तीनवटा फरक अभियोग पत्र दर्ता गराएको थियो । आलमको पक्षमा वकालतनामा लेखाएमा २९ जनामध्ये २५ जना वकिलले बहस गरेका थिए । पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठसहितले उनको पक्षमा बहस गरेका थिए ।

पीडितको पक्षबाट जिल्ला सरकारी वकिल कार्यालयका वकिलसहित पूर्वमहान्यायाधीवक्ता डा युवराज संग्रौलालगायतले बहस गरेका थिए । सरकारी वकिलले आलमसहित १० जनाविरुद्ध विस्फोटक पदार्थको प्रयोग तथा उत्पादन, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानको कसुर गरेको अभियोगमा आजीवन काराबासको सजाय मागदाबी गरेको थियो । अन्य एक अभियुक्तलाई मतियारको रूपमा सजाय मागिएको थियो ।

सम्बन्धित समाचार