मोहम्मद आफ्ताब आलमको आतंकका कारण जेल पठाउने आदेश दिनासाथ न्यायाधीश र सरकारी वकिलले जिल्ला छाडेका छन् । आलमलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिने जिल्ला न्यायाधीश दीपक ढकाल र वकालत गर्ने न्यायाधिवक्ता फणीन्द्रराज कटवालले न्यायपरिषद्सँग सरुवा मागेका थिए । त्यस्तै आदेशलगत्तै शुक्रबार साँझ नै जिल्ला छाडेका छन् ।
अदालतमा बहस चलिरहेका वेला गत मंगलबार दिउँसो रौतहटको मठिया प्रहरी चौकीमा बम प्रहार भएको थियो भने राज्य संयन्त्रलाई नै आतंकित बनाउने योजनाका साथ आलमे नै बम हान्न लगाएको प्रारम्भिक विश्लेषण गरिएको छ । सोही कारण आलमलाई रौतहतमा राख्न जोखिम भएकाले नख्खु कारागारमा राखिएको छ ।
त्यस्तै आलम जेल चलान भएपछि जिउँदै भट्टमा जलाइएका पिन्टुका बुबा श्रीनारायणसिंह राजपुतले भनेका छन्, ‘बल्ल न्यायको अनुभूति भयो, अब छोराको काजकिरिया गर्छु ।’
को हुन् आलम ?
अन्नपूर्ण पोस्टले निलम्बित सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताव आलमको राजनीतिक यात्रा र राजपुर बमकाण्डको फेहरिस्त उतारेर समाचार प्रकाशित गरेको छ । राजपुर परदवाका ५७ वर्षीय आलम काका सेख इन्द्रिसको प्रभावबाट राजनीतिमा लाखेको हनु् । उनले रौतहतको क्षेत्र नं २ मा कांग्रेसका तर्फबाट चारपटक सांसद पदमा विजय भएका थिए ।
विद्यार्थी जीवनमा राजनीतिमा लागेका उनी २०५४ सालमा भौतिक योजना तथा निर्माण सहायकमन्त्री, २०५७ मा वनमन्त्री, २०५८ मा भूमि सुधारमन्त्री र २०६५ मा श्रम तथा यातायात मन्त्री भएका थिए । आलम नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा रौतहट जिल्लाका पूर्वसभापति हुन् ।