नेपाली भूमि अतिक्रमणको विरोधमा नेपाल विद्यार्थी संघले लैनचौरस्थित भारतीय दूतावास अगाडि गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । कालो ब्यानर र राष्ट्रिय झण्डासहित प्रदर्शनमा उत्रिएकाहरु नेविसंघ कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएको छ ।
बेलुन राखेर उडाइएको कालो ब्यानरमा लिम्पियाधुरासहितको नेपाली नक्सा बनाइएको छ र अंग्रेजीमा ‘मोदी हेर, यो हो नेपालको नक्सा’ लेखिएको छ ।
भारतले हालै सार्वजनिक गरेको नक्सामा लिपुलेक, कालापानीलगायतका नेपाली भूमिलाई आफ्नो क्षेत्रमा पारेपछि देशभर विरोध प्रदर्शन भइरहेको छ । काठमाडौं उपत्यकामा दिनहुँजसो भारतविरुद्ध प्रदर्शन हुँदै आएको छ ।
नेपाली भूमिलाई आफ्नो दावी गर्दै भारतले नक्सा जारी गरेपछि नेपालका सबैजसो राजनीतिक दलहरुले आपत्ति जनाएका छन् । सरकारले पनि भारतले जारी गरेको नक्सामा नेपाली भूमि पारिएको भन्दै कुटनीतिक तहबाट सीमा समस्या समाधान गरिने स्पष्ट पारिसकेको छ ।