नवकान्तिपुर संवाददाता
काठमाडौं, १ मंसिर ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक अहिले केही बेरमै बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा सरकार तथा पार्टीको जिम्मेवारीको बिषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ । स्रोतका अनुसार आजको बैठकले प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छानेका १० नयाँ मन्त्रीलाई अनुमोदन गर्ने स्रोतको दाबी छ ।
शनिवार मात्रै राजधानीको ग्राण्डी इन्टरनेशनल अस्पतालमा मृगौलाको डायलिसिस गरेका ओलीलाई डाक्टरले मृगौला नै पुनः प्रत्यारोपण गर्न सुझाव दिएपछि ओलीले सरकार र पार्टीको जिम्मेवारी हस्तान्तरण गर्ने तयारी गरेका छन् । स्रोतका अनुसार प्रचण्डलाई पार्टीको र रक्षामन्त्री समेत रहेका ईश्वर पोखरेललाई सरकारको जिम्मेवारी सुम्पने ओलीको तयारी छ । उपचारका क्रममा करीब ४ महिनासम्म आराम गर्नुपर्ने भएकाले प्रधानमन्त्री ओलीले त्यस अगावै मन्त्रीपरिषद् पनि पुर्नगठन गर्ने भएका छन् ।
ओली र प्रचण्डको सहमतिमा १० मन्त्रीलाई विदाई गरिने भएको छ भने त्यतिकै संख्यामा नयाँ मन्त्रीलाई थपिने भएको छ । नयाँ मन्त्रीका रूपमा पूर्वएमालेबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, छविलाल विश्वकर्मा, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, पार्वत गुरुङ, वसन्त नेम्वाङ, पदम गिरी, प्रेम आले, यज्ञराज सुनुवार तथा पूर्वमाओवादी समूहबाट जनार्दन शर्मा, पम्फा भुसाल, अग्निप्रसाद सापकोटा, लेखराज भट्ट, प्रभु साहलगायतको नाम ओलीको कोटमा रेहको लिस्टमा समावेश छन् ।
त्यसैगरी उपसभामुख डा. शिवमायाँ तुम्बाहाम्फेलाई राजीनामा गर्न लगाई मन्त्रिपरिषदमा समावेश गराइने भएको छ । सभामुखको दाबी गर्दै आएका अग्नी सापकोटालाई पनि मन्त्री परिषदमा घुसाए सँगै सभामुखको चिटठा अर्का नेता देव गुरुङको पोल्टामा पर्न सक्ने स्रोतको दावी छ ।