नवकान्तिपुर संवाददाता
काठमाडौं, १ मंसिर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठनको तयारीबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा जानकारी गराएका छन् । नयाँ मन्त्रीहरुको नाम छनौट भएको बताए पनि ओलीले नाम भने सार्वजनिक गरेनन् । साेमवार (भोलि) नै मन्त्रिपरिषद् पुनर्गठन हुने ओलीले जानकारी दिएका थिए ।
ओलीले नयाँ मन्त्रीहरूको नाम सार्वननिक नगरेपनि पूर्वएमालेबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, छविलाल विश्वकर्मा, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, पार्वत गुरुङ, वसन्त नेम्वाङ, पदम गिरी, प्रेम आले, यज्ञराज सुनुवार तथा पूर्वमाओवादी समूहबाट जनार्दन शर्मा, पम्फा भुसाल, अग्निप्रसाद सापकोटा, लेखराज भट्ट, हरीवोल गजुरेललगायतको नाम समावेश गरेको स्रोतको दावी छ ।
आइतबार साँझ बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल हुनुको साथै प्रवास समन्वय कमिटीको नेतृत्व टुंगो पनि लगाएको छ। बैठकले नेतृ विन्दा पाण्डेलाई प्रवास समन्वय कमिटीको इन्चार्ज बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
‘प्रवासी नेपालीहरूको सम्पर्क एकता स्थापित गर्ने र प्रवासी नेपालीहरू हकहितको रक्षामा भूमिका खेल्न समन्वय कमिटी गठन गरिएको छ,’ प्रवक्ता श्रेष्ठले भने,‘हाम्रो पाटीको प्रवासमा कमिटी बनाउने नीति भने छैन।’
कमिटीको सहइन्चार्जको जिम्मा लक्ष्मण पन्तलाई दिइएको छ भने अध्यक्षमा युवराज चौंलागाईलाई नियुक्त गरिएको छ। श्रीप्रसाद साहलाई कमिटीको सचिव र दिलु बिकलाई सदस्य बनाइएको छ।