नवकान्तिपुर संवाददाता
काठमाडौं
कुनै समय नेपाल विद्युत् प्राधिकरणलाई रुग्ण आयोजना पालेर बसेको, समयमा काम सम्पन्न गर्न नसकेको जस्ता आरोप लाग्ने गरेको थियो। त्यस्तै आरोप लाग्ने एउटा आयोजनाको नाम हो माथिल्लो त्रिशूली थ्री ‘ए’। प्राधिकरणले निर्माण गरेको सो आयोजना सकिन मात्रै एक दशकभन्दा बढी लाग्यो।
गत चैतदेखि नियमित विद्युत् उत्पादन शुरु गरेको सो आयोजनाको आज औपचारिकरूपमा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको ‘एक्शन रुम’ बाट र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेमा उपस्थित भएर आयोजनाको उद्घाटन गर्न लागिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लामो प्रयास र मेहनतपछि ६० मेगावाट क्षमताको आयोजना सम्पन्न भएको र सोमबार औपचारिकरूपमा उद्घाटनको कार्यक्रम तय गरिएको जानकारी दिए।